![]()
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १९ औँ शिखर सम्मेलन पाकिस्तानमा गराउन नेपालका तर्फबाट भूमिका निर्वाह गरिने बताएका छन् ।
‘एसिया प्रशान्त शिखर सम्मेलन’ मा भाग लिन नेपालको भ्रमणमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले सार्कको अध्यक्ष मुलुक भएको हिसाबले नेपाल पाकिस्तानमा शिखर सम्मेलन गराउन भूमिका निर्वाह गरी अध्यक्षता हस्तान्तरण गर्न आतुर रहेको स्पष्ट पारे । नेपालमा सन् २०१४ मा भएको १८ औँ शिखर सम्मेलनले २०१६ मा पाकिस्तानको इस्लामावादमा शिखर सम्मेलन गर्न तय गरे पनि पाकिस्तान र भारतको आपसी असमझदारीका कारण मिति तय हुन सकेको छैन ।
पाकिस्तानी पूर्वप्रधानमन्त्री गिलानीले पाकिस्तानी जनता र त्यहाँका राजनीतिक दल सार्कप्रति प्रतिबद्ध रहेको र सम्मेलनका लागि तयार रहेको जनाएपछि प्रधानमन्त्री ओलीले नेपाल पनि सार्कलाई प्रभावकारी रूपमा अघि बढाउन चाहेको सन्देश दिए ।
प्रधानमन्त्री ओलीसँग शिखर सम्मेलनका लागि नेपालको भ्रमणमा रहेका कोलम्बियाका पूर्वराष्ट्रपति आन्द्रेस पास्त्रानाले पनि शिष्टाचार भेट गरेका छन् ।


