Breaking News.... EverestOnlineKhabar
June 26, 2026

न्यूजिल्यान्डको टापुमा अलपत्र परेका १४५ ह्वेल मरे

Loading

बीबीसी । न्यूजिल्यान्डको स्ट्युअर्ट आइल्यान्डको समुद्री तटमा झन्डै १४५ वटा पाइलट ह्वेलहरू मरेका छन्। शनिवार पदयात्रीहरूले मेसन बेमा अलपत्र परेका ह्वेललाई पहिलो चोटि देखेका थिए। अधिकारीहरूका अनुसार आधाउधी ह्वेल त्यतिबेलासम्म मरिसकेका थिए भने बाँकी ह्वेललाई बचाउन कठिन हुने भएकाले मारिएको थियो।

गत सप्ताहान्त छुट्टै घटनामा १२ वटा पिग्मी ह्वेल र एउटा स्पर्म ह्वेल न्यूजिल्यान्डको समुद्री तटमा आइपुगेर अलपत्र परेका थिए। पाइलट ह्वेलका दुईवटा बथान राकियुरा अर्थात् स्ट्युअर्ट आइल्यान्डको किनारामा दुई किलोमिटर तलमाथि दुई ठाउँमा आइपुगेका थिए। दुर्गम क्षेत्रमा पदयात्रा गर्दै गरेका एक व्यक्तिले तिनलाई पहिलो चोटि देखेका थिए।

सो क्षेत्रको संरक्षण विभागका एक अधिकारी रेन लेपन्सले एउटा विज्ञप्तिमा भने, “दुर्भाग्यवश, बाँकी ह्वेललाई पुन: सफलतापूर्वक पानीमा फर्काउने सम्भावना एकदमै न्यून थियो।”

“दुर्गम स्थान, नजिकै मान्छेको अभाव र ह्वेलको बिग्रिँदो अवस्थाले गर्दा तिनलाई चिर निद्रामा सुताउनु नै सबैभन्दा मानवोचित काम थियो।”

“तर यो एउटा हृदयविदारक निर्णय थियो।”

संरक्षण विभागका अनुसार ह्वेल अलपत्र पर्नु असामान्य घटना हैन र प्रत्येक वर्ष झन्डै ८५ वटा यस्ता घटना हुन्छन्। अधिकांश घटनामा बथान नभएर एउटा ह्वेल मात्रै समुद्री तटमा आएर अलपत्र परेको देखिन्छ।

किन अलपत्र पर्छन् ह्वेल?

ह्वेल र डल्फिन कसरी अलपत्र पर्छन् भन्ने पूर्ण रूपमा बुझ्न नसकिएको सो विभागले जनाएको छ। तर बिरामी पर्नु, यात्रा गर्दा दिशा ठम्याउन नसक्नु, समुद्री छालको प्रभाव र सिकारी जीवको लखेटाइमा पर्नु सम्भावित कारण हुन्।

न्यूजिल्यान्डको नर्थ आइल्यान्डको उत्तरी भेगमा गत सप्ताहान्त १२ वटा पिग्मी ह्वेल अलपत्र परेका थिए। तीमध्ये चारवटा मरे भने बाँकी आठको उद्धार गरेर पानीमा फर्काउन सकिने अपेक्षा गरिएको छ। शनिवार बिहान नर्थ आइल्यान्डको तटमा एउटा १५ मिटर लामो स्पर्म ह्वेल मृतावस्थामा भेटिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.