![]()
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यही कात्तिक २० गते केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ । कांगेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाइएको बताएका छन् । बैठकमा महासमिति बैठकको मिति र नेविसंघको १२ औं महाधिवेशनका बारेमा छलफल हुने बताइएको छ ।
गत भदौ ९ गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिकोे बैठकले आगामी मंसिर ५ देखि ९ गतेसम्म काठमाडौँँमा महासमिति बैठक आयोजना गर्ने निर्णय गरेको थियो । तर विधान संशोधन मस्यौदा समितिले विधानको मस्यौदा तयार गरी नसकेका कारण महासमितिको बैठक पछाडि धकेलिने लगभग निश्चित जस्तै छ ।
त्यस्तै गत असोज २१ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन पक्षले नेविसंघमा ३२ वर्षे उमेरहद बहुमतका आधारमा पारित गरेपछि संस्थापन इतर समूह असन्तुष्ट छ । गत असोज २५ गतेका लागि बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएपछि कांग्रेस नेताहरु छलफलका लागि भनेर सामूहिक रुपमा एक ठाउँमा भेला हुन सकेका छैनन् ।


