![]()
काठमाडौं । संविधान संशोधन लगायतका विभिन्न माग राख्दै राष्ट्रिय जनता पार्टी नेपालले जिल्ला–जिल्लाबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएको छ। जिल्ला प्रशाशन कार्यालय मार्फत पठाइएको ज्ञापन पत्रमा माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी समेत दिइएको छ।
राजपाले सोमबार विभिन्न जिल्लाबाट ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा पूर्व सहमति अनुसार संविधान संशोधनका साथै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित रेशम चौधरीको शपथ ग्रहण, आन्दोलनका क्रममा पक्राउ परेकाहरु उपर चलाएको मुद्दा फिर्ता, निर्मला पन्त र सम्झना दासका हत्यारालाइ पक्राउ तथा कारबाही, महंगी नियन्त्रण लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ।
दुई तिहाइको वर्तमान सरकार हरेक मोर्चामा असफल हुनुका साथै विगतमा गरेको सहमति कार्यान्वयनमा कुनै चासो नदेखाएकाले दबाब दिने उद्देश्यले शान्तिपूर्ण प्रदर्शन र ज्ञापनपत्र बुझाइएको राजपाका नेताहरुले जनाएका छन्।


