![]()
बीबीसी । अमेरिका उत्तर कोरियासँगको वार्तालाई पुनः निरन्तरता दिन तयार देखिएको छ । अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओले आफ्नो देश उत्तर कोरियासँगको वार्ता फेरि सुरु गर्नका लागि तयार रहेको बताएका छन् ।
उत्तर कोरियालाई सन् २०२१ सम्ममा परमाणु हतियार मुक्त बनाउने गरी परमाणु निशस्त्रिकरणसहितका विषयमा छलफल गर्न आफूहरु तयार रहेको पोम्पेओले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबिच गएको जुनमा सिंगपुरमा ऐतिहासिक वार्ता भएको थियो । त्यसपछि दुई देशबिच उच्चस्तरमा छलफल हुँदै आएका थिए ।
गएको जुलाईमा उत्तर कोरियाले परमाणु परीक्षणको तयारी र बिस्तार नरोकेको खबर आएपछि दुई देशको वार्तामा अवरोध आएको थियो । तर दक्षिण कोरियाका राष्ट्रपति मुन जे–इन र उत्तर कोरियाका नेता किम बिच भएको बिस्तृत सम्झौतापछि वार्ताले निरन्तरता पाउने देखिएको हो ।
उत्तर कोरियाको भ्रमणमा रहेका दक्षिण कोरियाली राष्ट्रपति र उत्तर कोरियाका नेता किम बिच परमाणु निशस्त्रिकरणसहितका विषयमा सहमति भएको हो । किम देशको प्रमुख परमाणु परीक्षण केन्द्र बन्द गर्न सहमत भएका छन् ।
यस्तै परमाणु निशस्त्रिकरणको प्रक्रिया सुरु गर्न पनि किम सहमत भएका छन् । उत्तर कोरियाको यो महत्वपूर्ण प्रतिबद्धतापछि अब वार्ताले निरन्तरता पाउने अमेरिकी विदेश मन्त्री पोम्पेओले बताएका छन् ।
तत्काल अमेरिका वार्तामा लाग्ने पोम्पेओले बताएका छन् । उत्तर र दक्षिण कोरियाका नेताबिच भएको सहमतिको अमेरिकी राष्ट्रपति ट्रम्पले पनि स्वागत गरेका छन् ।


