![]()
बागलुङ ।बागलुङ जिल्लाको बडिगाड र ढोरपाटन नगरपालिकाको सिमाना तुरतुरे भीरबाट पहिरो खस्दा अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग खुलाउन एक साता बढी लाग्ने भएको छ । बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले राजमार्गमा थुपै्र ठाउँमा पहिरो गएकाले खुलाउने समय लाग्ने बताएका हुन ।
शुक्रवार ११ बजे तिर झण्डै ५ सय मिटर माथिबाट ठूला चट्टान सहित खसेको पहिरोले बडिगाड खोला थुन्दा ४ घर डुबेका थिए । थुनिएको खोलाबाट बिस्तारै पानी बग्न थालेकाले ठूलो जोखिम टरेको खरेलले बताए।
केही दिन अगाडिदेखि चर्किएको पहाडबाट एक्कासी सुख्खा पहिरो गएको बताइएको छ। बागलुङ र गुल्मी क्षेत्रका कतिपय बासिन्दा पहिरो गएपछि त्यसले अर्को जोखिम निम्याउने हो की भन्ने त्रासमा आफूहरू रातभर निदाउन नसकेको बताउँछन्।
अहिले मध्यपहाडी लोकमार्गबाट आवातजावत गर्ने सवारी साधन पूर्ण रुपमा ठप्प भएका छन्। प्रहरी तथा स्थानीयबासीले पैदल मार्ग बनाउने बताए पनि अहिले निरन्तर पहिरो खसिरहेकाले समस्या भएको छ ।
पहिरो गएपछि तटिय क्षेत्रका बासिन्दाले आफ्ना महत्त्वपूर्ण कागजात सहितका सामाग्रीहरू लिएर माथिल्लो क्षेत्रमा बसेको र डुबानमा परेका परिवारहरू आफन्तको आश्रय लिएर बसेको बडिगाड गाउँपालिका-२ खर्बाङका कमल पौडेलले बताए। मध्यपहाडी लोकमार्गमा ठूला ढुङ्गा र माटो थुप्रिएकाले बाटो पन्छाउन धेरै समय लाग्ने बताइएको छ।
पहिरोले खोला पुरेपछि २ किलोमिटर लम्बाइ, २ सय मिटर चौडाइ र सय मिटर उचाइको ताल बनेको थियो । अहिले झण्डै ५ मिटर ताल ओभर फ्लो भएर बगेको भन्दै भौतिक क्षति भए पनि मानवीय क्षति नभएको बताइएको छ।


