![]()
बीबीसी ।इजिप्टको पाँच तारे होटलमा एक जोडीको केही घण्टाको अन्तरालमा अचानक मृत्यु भएको छ । जोन र सुसन कुपरको मृत्युपछि थोमस कुक होलिडे ट्राभल कम्पनीले रेड सी रिसोर्टमा रहेका तीन सय एक आगन्तुकलाई उक्त होटल तत्काल छाड्न आग्रह गरेको छ । ती आगन्तुकमध्ये कोही बिरामीसमेत पर्न थालेपछि सबैजनालाई बाहिर निकाल्ने निर्णय गरिएको थोमस कुकले बताएको छ ।
ल्याङ्क्यासायरको बर्नलेका ती जोडी आफ्नी छोरी केली ओर्मेरोड र तीन नातीनातिनासहित बिदा मनाउन उक्त रिसोर्ट पुगेका थिए । केली ओर्मेरोडले आफ्ना आमाबुवाको स्वास्थ्यमा केही खराबी नभएको र घटनाले आफूहरुलाई अत्यधिक आघात पुर्याएको बताएकी छिन् । आफू अब पोस्टमोर्टम रिपोर्टको प्रतिक्षा गरिरहेको उनले बताएकी छिन् ।
जोन र सुसनको मृत्युको कारणबारे अनुसन्धान चलिरहेका बेला ओर्मेरोडे स्थानीय अधिकारीलाई होटलको बिग्रिएको एयर कन्डिशनरका कारण आमाबुवाको मृत्यु भएको हुनसक्ने आशंका व्यक्त गरेकी छिन् ।
स्थानीय अधिकारीले जोन र सुसनको प्राकृतिक मृत्यु भएको ठहर गरेका छन् । अहमद अब्दुल्लाह, रेड सी प्रान्तका गर्भनरले ६९ वर्षे जोन र उनकी ६४ वर्षकी श्रीमतीको प्राकृतिक मृत्यु भएको बताएका छन् ।


