![]()
कञ्चनपुर,भदौ ।
कञ्चनपुरको भीमदत्तनगर–२ की १३ वर्षीया निर्मला पन्तलाई बलात्कार गरी हत्या गरिएको र प्रहरीको अनुसन्धान छानबिन गर्न गृहमन्त्रालयले ५ सदस्यीय समिति बनाएको छ। कारागार व्यवस्था विभागका महानिर्देशक हरि मैनालीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनेको गृहमन्त्रालयले जनाएको छ।
समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक बसन्त बाँनिया र अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र प्रदेश नं ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विरेन्द्र केसी सदस्य छन्।
प्रहरीले वास्तविक अभियुक्त नखोजी नक्कली अभियुक्त खडा गरेको भन्दै स्थानीयहरू आन्दोलनमा उत्रिएका छन्। बिहिबार दिउँसो प्रदर्शनकारीले जिल्लास्थित सरकारी भवनमा तोडफोड गरेपछि प्रहरीले १० राउन्ड गोली हानेको थियो। गोली लागि ३ जना गम्भीर घाइते भएका छन् भने थप १० जना सामान्य घाइते छन्।
आक्रोशित समूहले ट्राफिक जिल्ला प्रहरी कार्यालय तोडफोड गर्न थालेपछि गोली चलाएको प्रहरीले जनाएको थियो। गोली लागेर गम्भीर घाइते भएका तेजराज भट्टलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ।
साउन १० गतेदेखि हराएकी निर्मलाको ११ गते बलत्कारपछि हत्या गरिएको शव फेला परेको थियो। झन्डै महिना दिन लामो अनुसन्धानपछि प्रहरीले भदौ ४ गते ४१ वर्षीय दिलिपसिंह विष्टलाई अभियुक्त भनेर सार्वजनिक गरेको थियो। तर, स्थानीयवासी मुख्य दोषी पत्ता लगाउन छोडेर प्रहरीले नक्कली अभियुक्त बनाएको भन्दै विरोध गरिरहेका छन्।
घटनाको अनुसन्धान गर्न गठित समितिले आजदेखि काम सुरु गर्ने भएको छ ।


