![]()
काठमाडौ,भदौ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भदौ मसान्तमै महासमिति बैठक बोलाउने तयारी गरेका छन् । सम्भवतः आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले मिति तोक्ने देउवा निकट एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । जेठ अन्तिममा भएको केन्द्रीय कार्यसमितिले भदौ मसान्तभित्र महासमिति बैठक गर्ने निर्णय गरेको थियो । तर, लामो समय विधान मस्यौदा समिति नै गठन हुन सकेन ।
नेताहरुले अब छठपछि मात्र महासमिति हुने अनुमान गरेका थिए । तर, रामचन्द्र पौडेल समूहसँगै महामन्त्री शशांक कोइरालाले समेत महासमिति बैठक टार्न खोजेको आरोप लगाएपछि सभापति देउवा यही महिनामै महासमिति बैठक बोलाउने मुडमा पुगेका हुन् । देउवाले केन्द्रीय समिति बैठक बस्नु अघिल्लो दिन हिजो मस्यौदा समिति गठन गरेका छन् ।
महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको ११ सदस्यीय समितिको पहिलो बैठक आज नै बोलाइएको छ ।समितिले विधान संशोधनको मस्यौदा बनाउन आफूलाई चाहिने समय निर्धारण गरेपछि महासमितिको मिति तय हुने एक नेताले बताए ।
भदौ मसान्तबाट सुरु गरेर असोज पहिलो साता सक्ने गरी महासमिति बोलाउने योजना छ ।
यसैबीच, विधान संशोधनको मस्यौदा बनाउन गठित समितिमा देउवा समूहकै प्रष्ट बहुमत छ । ११ सदस्यीय समूहमा संयोजकसहित ७ जना देउवा समूहबाट परेका छन् । कृष्ण सिटौला समूहबाट प्रदीप पौडेल छन् । दिलेन्द्रप्रसाद बडू र नविन्द्रराज जोशी पौडेल समूहका हुन् भने मिनेन्द्र रिजाल पछिल्लो समय शशांक कोइराला नजिक छन् । ९ सदस्यीय समिति बनाउने भनेर ११ बनाएकोमा पौडेल समूह असन्तुष्ट देखिएको छ ।
विधान मस्यौदा समिति गठन भए लगतै पौडेल समूहको बैठक डिल्लीबजारमा बसेको थियो । त्यहाँ पौडेलले समितिको संख्या बढाएकोमा असन्तुष्टि जनाएका छन् । भोलिको बैठकमा पनि आफूहरुबीच छलफल नै नभएका विषयमा समेत सभापतिले प्रस्ताव ल्याउन सक्ने पौडेलको आशंका थियो ।
एक नेताका अनुसार केन्द्रीय कार्यसमितिको बैठकले आज कार्यसम्पादन समिति बनाउनेछ । यसअघि बनाएको कार्यसम्पादन समिति विधान विपरित भएको भन्दै भंग गरिएको थियो । अब बन्ने समितिमा पदाधिकारी बाहेक २२ जना हुनेछन् । आज बैठकले अनुशासन समिति गठन गर्नेछ । स्रोतका अनुसार यो समितिको सभापतिमा देउवा समूहका नेता भीष्मराज आङदाम्बेको सम्भावना बढी छ ।


