![]()
एजेन्सी,भदौ ।
नेपालमा इसाई धर्मका प्रचारकहरू यहाँका सनातन वैदिक मत र बौध्दमतका अनुयायीहरूलाई ललाई–फकाई आफ्नो धर्ममा धर्मान्तरण गरिरहेका छन् । तर यस्ता प्रचारक र पादरीहरू आफ्नै कृस्टियन (इसाई) धर्म सङ्कटमा परिरहेको कुरामा कति जानकार होलान् ?
अहिले इसाई मतमध्येको क्याथोलिक सम्प्रदायका संसारभरिकै अगुवाहरू छटपटाहटमा परेका छन् र यस घटना–विकासले सिङ्गो कृस्टियन जगत्को जग हल्लिएको छ । क्याथोलिक चर्च ‘आध्यात्मिक सङ्कट’ परेको छ । यो स्वीकारोक्ति हो कार्डिनल उपाधि भएका डानियम डिनार्डो (टेक्सास) को संयुक्त राज्य अमेरिकाभरका विशपहरूको संगठनसित सम्बध्द छन् ।
क्याथोलिक सम्प्रदायका सर्वोच्च धर्मगुरु हुन् पोप जो इटालीको राजधानी नजिकै रहेको ‘भ्याटिकन राज्य’ बाट विश्वभरिका एक अर्ब क्याथोलिक मतका मानिसलाई प्रभावित गर्छन्, गरिरहेका छन् ।
सन् २०१३ मा पोप पदमा आसीन फ्रान्सिस अहिले सतहमा आएको ‘आध्यात्मिक सङ्कट’ को सामना गर्न सकिरहेका छैनन् । निन्दा, आलोचनाको तारो भएका छन् । यो विषय विश्वभर छरिएर रहेका क्याथोलिक गिर्जाघर (चर्च) हरूमा सञ्चालक पादरीहरू बाल–यौन दुर्व्यवहारमा संलग्न भएका घटनाहरू सार्वजनिक हुन थाल्नुसित गाँसिएको छ । र, गए साता अमेरिकाको पेन्सीलभेनिया राज्यका चर्चबारे निस्केको छानबीन प्रतिवेदनले इसाई पादरीहरूको अनैतिक यौन गतिविधि कुन नग्न र घृणित तहमा पुगेको रहेछ त्यो छताछुल्ल भएर बाहिर आएको छ । तीनशय पादरीहरूले एक हजारभन्दा बढी बाल–बालिका (जसको पहिचान खुल्न सक्छ) माथि यौन दुर्व्यवहार गरेको ठहर पेन्सीलभेनिया राज्यका महान्यायाधिवक्ता जोश शपिरोको रेखदेखमा भएको अनुसन्धानले देखाएको छ । अनुसन्धान १८ महिनामा सम्पन्न भएको हो । प्रतिवेदन झण्डै ९०० पृष्ठमा छ ।


