Breaking News.... EverestOnlineKhabar
August 16, 2026

Loading

एजेन्सी । सुरक्षा निगरानीका लागि लाखौं खर्चिएर जडान गरिएका पूर्वी नेपालका सीसी क्यामेरा बिग्रिएर प्रयोगविहीन हुन थालेका छन्। सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिने शहरका मुख्य सडक र चोकहरूमा जडान गरिएका सीसी क्यामेरा चट्याङ, अनियमित विद्युत आपूर्ति र मर्मत सम्भारको अभावले प्रयोगविहीन बनेका हुन्।

प्रविधिको प्रयोगले सुरक्षा अवस्था निगरानी गर्ने उद्देश्यका साथ प्रहरी र स्थानीयबासिको सहयोगमा लाखौं खर्चिएर जडान गरिएका ताप्लेजुङका १३ वटा सिसी क्यामेरा मध्ये आधाजसो सिसी क्यामेरा अहिले बिग्रिएर प्रयोगविहीन अवस्थामा छन्।

अपराध नियन्त्रण र प्रमाण सकंलनको भरपर्दो माध्यमका रुपमा प्रयोग भइरहेका सिसी क्यामेराहरू बिग्रिँदा सुरक्षा चुनौती बढ्दै गएको ताप्लेजुङका प्रहरी प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।

ताप्लेजुङ मात्र नभइ पूर्वका मुख्य शहरहरू इटहरी, धरान, बेलबारी,पथरीलगायतका मुख्य शहरका राजमार्गमा जडान गरिएका अधिकांश सीसी क्यामेरा मर्मत सम्भारको अभावमा खिया लागेर थोत्रिन थालेका छन्।

यातायातका साधनको बढ्दो चापलाई मध्यनजर गरी जडान गरिएका सीसी क्यामेरा बिग्रिएसँगै सार्वजनिक यातायातका साधनको लापरबाही समेत बढ्न थालेको प्रहरीले जनाएको छ।

सीसी टिभी बिग्रिएको वर्षौं बितिसक्दा पनि यसको मर्मत सम्भार नहुँदा दिनदहाडै चोरी लुटपाट र डकैतीका घटनाहरू हुन थालेको पूर्वकै व्यस्त शहर इटहरीका एकजना व्यवसायी प्रकाश कोइराला बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.