![]()
काठमाडौं । बंगलादेशलाई ३–० को नतिजा सुम्पिएपछि नेपाली टोलीले साफ यु–१५ महिला फुटबलको सेमिफाइनलमा भारतको सामना गर्ने भएको छ।
सोमबार समूह ‘बी’ को विजेता टुंगो लगाउन भएको खेलमा नेपाल बंगलादेशसँग ३–० ले पराजित भएको हो । समूह चरणको पहिलो खेलमा नेपाल र बंगलादेश दुवैले पाकिस्तानलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरिसकेका थिए।
पहिलो खेलमा पाकिस्तानलाई १४–० ले पराजित गरेको बंगलादेश समूह ‘बी’ को विजेता बनेको छ । समूहको पहिलो खेलमा पाकिस्तानमाथि ४–० को जित हासिल गरेको नेपाल घरेलु टोलीसँग पराजित भएपछि उपविजेतामा सिमित भएको छ।
उपविजेता बनेसँगै नेपालले सेमिफाइनलमा भारतलाई प्रतिद्वन्द्वीका रुपमा पाएको हो । भारत समूह ‘ए’को विजेता टोली हो । नेपालको समूहबाट विजेता बनेको बंगलादेशले समूह ‘ए’ को उपविजेता भुटानसँग प्रतिस्पर्धा गर्नेछ।
भारतले बिहीबार श्रीलंकालाई १२–० को नतिजामा पराजित गर्दा भुटानले शनिबार ६–० को विजयी नतिजा निकालेको थियो । सेमिफाइनलका खेलहरु बिहीबार हुनेछन्।


