![]()
काठमाडौं । शान्ति–सुरक्षा दिन–प्रतिदिन खस्कँदै गएको भन्दै सत्तारुढ दलका सांसदहरुलेसमेत सरकारको ध्यानाकर्षण गराएका छन् । एकपछि अर्को गर्दै बलात्कारका घटना भइरहेको, अपहरण तथा हत्याका घटना भइरहँदा सरकार मौन बसेको र पछिल्ला दिनमा मानवअधिकार उलंघनका घटनासमेत बढ्दै गएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
बुधबारको राष्ट्रियसभा बैठकमा मुलुकमा बढ्दै गएको हत्या, अपहरण र बलात्कारजस्ता जघन्य कृत्यप्रति सत्तारुढ र विपक्षी दलका सांसदहरुले रोष प्रकट गरेका हुन् । उनीहरुले कन्चनपुरमा एकपछि अर्को गर्दै बलात्कारका घटना हुँदासमेत सरकार मौन बसेको भन्दै आपत्ति जनाए ।
विशेष समयमा बोल्दै सांसदहरुले बालिका तथा किशोरीमाथिको बलात्कारका घटना एकपछि अर्को बढ्दै गएको भन्दै स्थलगतरुपमा अध्ययन गरेर दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन् । समग्र सुरक्षा अवस्थासमेत राम्रो नभएको भन्दै सत्तारुढ सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदले भक्तपुरमा बालक अपहरणपछि भएको हत्याको घोर भर्त्सना गर्दै प्रहरीको असावधानीका कारण बालकको हत्या भएको कुरा सार्वजनिक भएकाले गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरे । बालकका हत्या अभियुक्तलाई पक्रेर प्रमाण नै नस्ट हुने गरी ‘इन्काउन्टर’का नाममा हत्या गरिएकामा पनि सांसदहरुले आपत्ति जनाए । उनीहरुले यसबारे सरकार र राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएका छन् ।


