![]()
बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘खराव वातावरणीय कानून’ का कारण अमेरिकी राज्य क्यालिफोर्नियाको डढेलोलाई नियन्त्रणमा ल्याउन समस्या परेको बताएका छन्। कानूनले उपलब्ध पानीलाई उचित ढङ्गले उपयोग गर्न अनुमति नदिएपछि राज्य नै डढेलोका कारण आक्रान्त बनेको अमेरिकी राष्ट्रपतिले दावी गरे।
राष्ट्रपति ट्रम्पले भने, ‘क्यालिफोर्नियाको डढेलो दिनप्रतिदिन फैलिएको छ र यसले राज्यका जनतामा नराम्रो प्रभाव परेको तर यस अवस्थामा पनि उपलब्ध पानीलाई यथोचित रूपमा उपयोग गर्न वातावरण कानून समस्या भएको छ।’ क्यालिफोर्नियाको पानी प्रशान्त महासागरतर्फ लगिएकोले आगो निभाउन पानीको अभाव भएको उनको दावी थियो।
अमेरिकी राष्ट्रपतिले क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउन ले पानीको वहावलाई उत्तरबाट स्वतन्त्र बग्न दिनुपर्नेमा ‘मूखर्तापूर्ण तरिकाले प्रशान्त महासागरतर्फ लगिएको’ पनि बताएका छन्।
क्यालिफोर्नियामा विनासकारी डढेलोले राज्यमा वितण्डा मच्चाएको छ। यसका कारण राज्यकै इतिहासमा दोस्रो ठूलो क्षति पुर्याएको बताइएको छ।
विभिन्न १७ स्थानमा फैलिएको डढेलोे नियन्त्रणका लागि हजारौँ अग्नी नियन्त्रकले अनवरत काम खटिरहेको भएपनि एक हप्ता पहिलेदेखि शुरु भएको आगो अझै तातो, सुख्खा तथा तुफानी रूपमा फैलिइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।


