![]()
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरुको गरेको दुई दशकपछि नेपालले पहिलो पटक वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेट सिरिज खेल्दैछ।
गत मार्चमा जिम्वावेमा भएको आइसीसी वान डे वर्ल्ड कप क्वालिफायरमा १० टिममध्ये आठौँ भएको नेपालले एसोसिएटतर्फ उत्कृष्ट तीनभित्र पर्दै ओडिआइको स्ट्याटस पाएको थियो । उक्त स्ट्याटस चार वर्षको लागि हुनेछ।
नेपालले आफ्नो पहिलो ओडिआई सिरिज युरोपियन टोली नेदरल्याण्ड्ससँग खेल्दैछ। नेदरल्याण्ड्स नेपालको लागि नौलो प्रतिद्वन्दी भने होइन। नेपालले उसकै मैदानमा गएर पनि खेलिसकेको छ भने विश्वका अन्य स्थानमा भएको प्रतियोगितमा पनि खेलेको छ।
पछिल्लो पटक नेपालले जिम्बावेमै सातौँ स्थानको प्लेअफका लागि डच टोलीसँग खेलेको थियो तर नेपाल उक्त खेलमा पराजित भएको थियो। संयोगवस नेपालले खेलेको पछिल्लो ५० ओभरको क्रिकेट नेदरल्याण्ड्सँगै थियो र झण्डै साँढे दुई महिनापछि नेपालले नेदरल्याण्ड्ससँगै ओडिआई खेल्दैछ। उक्त खेलको हारको बदला लिने नेपालको लागि उपयुक्त अवसर त छँदैछ र ऐतिहासिक ओडिआईमा पनि नेपाल जित हात पार्न चाहन्छ।


