![]()
इस्लामावाद,साउन ।
पाकिस्तानको केन्द्रीय संसदमा १६ वर्षपछि पहिलो गैरमुस्लिम सदस्य निर्वाचित भएका छन्। त्यस्तै, पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) का महेश मलानी पाकिस्तानको इतिहासमा संसदको तल्लो सदनको सांसद बन्ने पहिलो हिन्दू व्यक्ति बनेका छन्। पाकिस्तानी निर्वाचन आयोगलाई उद्धृत गर्दै पाकिस्तानी पत्रिका डनले दिएको जानकारी अनुसार मलानीले सिन्ध प्रान्तको एनए–२२२ (थारपारकर–दोस्रो) बाट निर्वाचन जितेका हुन्।
मलानी खाद्यान्नका लागि सिन्ध सभाका स्थायी समिति प्रमुख हुन्। पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुसर्रफले सन् २००२ मा गैरमुसलमान समुदायबाट मतदान तथा निर्वाचन लड्न पाउने कानुनी व्यवस्थाको सुनिश्चितता गरेका थिए। जसअनुसार पाकिस्तानी अल्पसंख्यक समुदायले पनि केन्द्रीय, प्रान्तीय सभा तथा पाकिस्तानी सिनेटमा निर्वाचित हुन पाउने प्रावधान बनेको थियो। यसअघि गत मार्चमा पिपिपीकै कृष्ण कुमारी थारपारकरबाट सिनेट सदस्यमा निर्वाचित बन्ने पहिलो महिला बनेकी थिइन्।


