![]()
एजेन्सी,साउन ।
यो साता युरोपेली फूटबलको ट्रान्सफर मार्केटमा एउटा नाटकीय घटना देखियो । ब्राजिलियन युवा स्टार माल्कमलाई फ्रेन्च क्लब बोर्डोबाट इटालीयन क्बल रोमाले भित्र्याउने गरी मौखिक सम्झौता भयो । खेलाडी र दुई क्लबसहित त्रिपक्षीय समझदारी बनेपछि रोमा माल्कमलाई स्वागत गर्ने र उनलाई सम्झौतामा हस्ताक्षर गराउने तयारीमा जुट्यो भने माल्कम इटाली उड्नका लागि प्लेनको टिकट पनि बुक भयो ।
रोमाका समर्थकहरू उनलाई स्वागत गर्न विमानस्थल नै पुगे । तर माल्कम आएनन् । ढिलागरी उनको फ्लाइट क्यान्सिल भएको खबर आयो । समर्थकहरू निराश हुँदै घर फर्किए ।
बार्सिलोनाले यसबीचमा नाटकीय मूभ चालिसकेको थियो । जसले यी युवा स्टारलाई बार्सिलोना पुर्यायो ।
यहाँ हामीले बार्सिलोनाले हालै अनुबन्धन गरेका युवा विंगर माल्कमका सम्बन्धमा आठ रोचक तथ्यहरू प्रस्तुत गरेका छौं ।
१.उनले १० वर्षको उमेरमा आफ्नो फूटसल टीम एस्पेरियामा उत्कृष्ट प्रदर्शन गरेर नाम कमाएका थिए । त्यसपछि उनले ब्राजिलको शीर्ष क्लब कोरिन्थिएन्समा पर्नका लागि ४०० जनासँग प्रतिस्पर्धा गरे । त्यतिबेला अन्डर–११ टीममा छानिने एक मात्र खेलाडी बने ।
२.उनका पिताले अमेरिकामा काला जातिका महान् नेता माल्कम एक्सलाई सम्मान दिनका लागि छोराको नाम माल्कम राखे ।
३.उनी ब्राजिलको साओ पाउलोको अत्यन्त गरीब क्षेत्रका रूपमा रहेको भिला फर्मोसाको एक झुपडपट्टीमा हुर्केका हुन् ।
४. उनले कोरिन्थिएन्स टीममा गएर अभ्यास गर्नका लागि बसको टिकट किन्न उनकी हजुरआमाले अनेकौं भाँडाकुँडा बेचेर पैसा जुटाएकी थिइन् ।
५.सन् २०१४ मा क्रुजेरो क्लबका बोस मानो मेनेजेसले माल्कमलाई फर्स्ट टीममा डेब्यू गराएका हुन् । त्यो सीजनमा उनले २० खेल खेलेर दुई गोल गरेका थिए ।
६.ब्राजिल फूटबल टोलीका वर्तमान प्रशिक्षक टिटे कोरिन्थिएन्सको व्यवस्थापक हुँदा माल्कमकै कारण सफल भएका थिए ।
७.माल्कमले रोबिन्हो र नेयमारलाई आफ्नो आदर्श मान्ने गरेका छन् ।
८.सेभियाका गिलेर्मो अराना उनका मिल्ने साथी हुन् र उनीहरू दुवैजना कोरिन्थिएन्समा खेल्ने गर्थे । त्यतिखेरदेखि उनीहरूको राम्रो सम्बन्ध छ ।


