Breaking News.... EverestOnlineKhabar
October 3, 2026

Loading

बीबीसी । जी-ट्वान्टी भनिने ठूलो अर्थतन्त्र भएको विश्वका २० देशका मन्त्रीहरू शिखर बैठकका लागि आर्जेन्टिनामा भेला भइरहँदा फ्रान्सका अर्थमन्त्री ब्रुनो ल मेयरले व्यापार युद्ध अहिले एउटा वास्तविकता भइसकेको बताएका छन्।

एकतर्फी रुपमा कर लगाउने अमेरिकी व्यापार नीति ‘जङ्गली कानूनमा आधारित’ रहेको उनले आरोप लगाए। तर अमेरिकी अर्थमन्त्री स्टिभन मनुसिनले अमेरिकी करको बचाउ गर्दै युरोपेली संघ र चीनलाई स्वतन्त्र प्रतिस्पर्धाका लागि आ-आफ्नो बजार खुल्ला राख्न आग्रह गरे। गत हप्ता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले व्यापारका लागि इयु एउटा शत्रु भएको बताएका थिए।

त्यसपछि ट्रम्पले अमेरिका पुग्ने ५०० अर्ब डलर बराबरका सबै चिनियाँ सामानमा कर लगाउने धम्की दिए। अमेरिकाले २८ सदस्य राष्ट्र भएको इयु र चीन दुवैसँगै ठूलो व्यापार घाटा बेहोर्दै आएको छ।

ब्वेनोस आइरिजमा दुई दिन चल्ने वार्ताका लागि ठूलो अर्थतन्त्र भएको विश्वका २० देशका अर्थमन्त्री तथा ब्याङ्करहरू भेला भएका हुन्।

फ्रान्सका अर्थमन्त्री ल मेयरले समाचार संस्था एएफपीलाई भने, “विश्व व्यापार जंगली कानूनमा आधारित हुनसक्दैन र एकतर्फी रुपमा कर वृद्धि गर्नु जङ्गली कानून हो।”

“जङ्गली कानून, सक्नेका लागि कानून, विश्व व्यापार सम्बन्धको भविष्य यो हुनसक्दैन।”

ल मेयरले थपे, “जङ्गली कानूनले वृद्धिलाई कमजोर तुल्याउनेछ, कमजोर मुलुकहरूलाई गाह्रो पार्नेछ र त्यसको भयावह राजनीतिक परिणाम निस्कनेछ।”

उनले व्यापार युद्ध अहिले वास्तविकतामा परिणत भइसकेको बताउँदै अमेरिकाले स्टील र एलुमिनियममा लगाएको कर फिर्ता नलिएसम्म इयुले उसँग स्वतन्त्र व्यापारबारे वार्ता गर्न नसक्ने उल्लेख गरे। अमेरिकी अर्थमन्त्री मनुसिनले इयु र चीनसँगको व्यापारबारे ट्रम्पको अडानलाई समर्थन गर्दै ती दुवैले आ-आफ्नो बजार खुल्ला गर्नुपर्ने बताए।

उनले भने, “मेरो सन्देश बिल्कुल स्पष्ट छ। हाम्रा राष्ट्रपतिले गत महिना जी सेभेन शिखर बैठकमा दिएकै सन्देश हो।”

“यदि युरोप स्वतन्त्र व्यापारमा विश्वास गर्छ भने हामी विना कुनै कर, आयात निर्यातमा विना कुनै निषेध र विना कुनै सहुलियत स्वतन्त्र व्यापार सम्झौता गर्न तयार छौँ।”

चीनको चर्चा गर्दै मनुसिनले बेइजिङविरुद्ध कडा कर लगाउने विषय ‘एउटा वास्तविक सम्भाव्यता’ भएको बताए। उनले थपे, “हामी हाम्रा उद्देश्यबारे एकदम स्पष्ट छौँ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed