Breaking News.... EverestOnlineKhabar
October 2, 2026

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक काठमाडौँमा

Loading

काठमाडौं । नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग गेम्स) को बारेमा छलफल गर्न दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को कार्यसमिति बैठक  काठमाडौंमा सुरु भएको छ। राजधानीको होटल याक एण्ड यतीमा भइरहेको बैठककमा एसएओसीका ७ मुलुकका ओलम्पिक कमिटीका प्रतिनिधिहरु उपस्थित छन्। उक्त बैठकले १३औं साग गेम्सको केही महत्वपूर्ण निर्णयहरु गर्नेछन्।

एसएओसीका अध्यक्षसमेत रहेका संघीय सांसद तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतमा बैठक भएको हो। बैठकले साग गेम्समा समावेश गरिएका खेलहरुको स्पर्धा तय गर्नेछ।

कुन खेलमा कति स्पर्धा समावेश गर्ने बैठकपछि टुंगो लाग्ने बैठकमा सहभागी नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिए। श्रेष्ठले एसएओसीका सदस्य राष्ट्रले यसपटक क्रिकेट खेल पनि समावेश गर्ने धारणा राखेका कारण बैठकमा यसबारे पनि छलफल हुने र निर्णय गरिने बताए।

बैठकको निर्णय बारे आइतवार पत्रकार सम्मेलन गरेर जानकारी गराइने नेपाल ओलम्पिक कमिटीले जनाएको छ।
यसअघि नै एसएओसीले साग गेम्समा २५ खेल सहभागी गराउने निर्णय गरिसकेको छ भने आयोजकको हैसियतमा नेपालले कराते र गल्फलाई यसपटक समावेश गरेको छ। १३औं साग गेम्स आगामी फागुन २५ देखि चैत ४ गते (२०१९ मार्च ९ देखि १८)सम्म काठमाडौं र पोखरामा आयोजना हुने तय छ। साग गेम्सका लागि अहिले मुख्य खेलस्थलहरु त्रिपुरेश्वरमा रहेको दशरथ रंगशाला, सातदोबाटोको पौडी पोखरी, पोखरा रंगशाला लगायतको पुनर्निर्माण कार्य भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed