![]()
एजेन्सी,साउन ।
जिम्बाब्वेसँगको ५ खेलको एक दिवसीय क्रिकेट सिरिजको शृंखला पाकिस्तानले २ खेल अघि नै जितेको छ । तेस्रो खेलमा जिम्बाब्वेलाई ९ विकेटले पराजित गर्दै पाकिस्तानले सिरिज आफ्नो पक्षमा पारेको हो । बुलावायोमा बुधबार राति भएको खेलमा जिम्बाब्वे माथि पाकिस्तानले सहज जित निकालेको हो ।
६८ रनको झिनो लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले ९.५ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य भेटायो । पाकिस्तानको जितमा फखर जमानले ४३ र बाबर अजामले १९ रन बनाए । इमाम उल हक भने शुन्य रनमा आउट भएका थिए ।
टस जितेर पहिले ब्याटिङ रोजेको जिम्बाब्वेले कुनै उत्कृष्ट प्रदर्शन गर्न सकेन । जिम्बाब्वेका कुनै पनि खेलाडी चल्न सकेनन् । जिम्बाब्वेले २५.१ ओभरमा अलआउट हुदै ६७ रन मात्रै बनाउन सक्यो । जिम्बाब्वेका लागि चामु चिभाभाले १६, कप्तान हामिल्टोन मसाकड्जा र वेलिङटोन मसाकड्जाले समान १०–१० रन बनाए भने अन्य खेलाडीले १० रन पनि कटाउन सकेनन् ।
जिम्बाब्वेलाई सस्तैमा समेट्न पाकिस्तानका फहिम अश्रफले ५ विकेट लिए । त्यस्तै, जुनाइद खानले २ विकेट लिए ।


