![]()
मुम्बई,असार ।
रणवीर कपुर अभिनीत सञ्जय दत्तको बायोपिक फिल्म‘सञ्जु’ ले यतिबेला भारतीय बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ। रिलिज भएको ११ दिन भइसक्दा भारतका साथै विश्वभरि फिल्मको व्यापार जारी छ। ११ दिनमा भारतीय बक्स अफिसमा मात्रै सञ्जुले दुई सय ७१ करोड भारु कमाइसकेको छ। दर्शकका साथै समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको सञ्जुले रिलिजको दिन ३४ करोड ७५ लाख बटुल्दै २०१८ मा आएका बलिउड फिल्महरुमध्ये ओपनिङमा सबैभन्दा ठूलो कलेक्सन गर्ने कीर्तिमान बनाएको थियो।
फिल्मले भारतमा मात्रै पहिलो सातामै दुई सय करोड रुपैयाँ व्यापार गर्यो, जबकि दोस्रो सप्ताहन्तमा ६१ करोड ७५ लाख बटुल्यो। अहिलेको व्यापार हेर्दा सञ्जुले दोस्रो साता ९३–९४ करोडको व्यापार गर्ने अनुमान गरिएको छ। बलिउडका व्यापार विश्लेषकका अनुसार, बक्स अफिसमा अहिलेकै रफ्तार कायम रहे फिल्मले ३ सय करोड सजिलै कमाउनेछ। राजकुमार हिरानीको निर्देशनमा बनेको सञ्जुको बजेट करिब एक सय करोड रहेको बताइन्छ। भारतीय बक्स अफिसका साथै विश्वभरको कमाइ जोड्दा १० दिनमा फिल्मले ४ सय ४५ करोड भारु कमाएको छ।


