Breaking News.... EverestOnlineKhabar
June 26, 2026

नेपाल एयरलाइन्सको वाइडबडी जहाजले आगामी असोजदेखि जापान उडान गर्ने

Loading

काठमाडौ,असार ।
राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले असोज महिनाभित्रै काठमाडौंबाट जापानको टोकियोमा सिधा उडान सुरू गर्ने भएको छ। एयरलाइन्सले ल्याएको एयरबस ३३० वाइडबडी जहाजबाट काठमाडौंबाट टोकियो नजिकैको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने तयारी गरेको छ। एयरलाइन्सले हप्ताको ३ उडान गर्ने गर्नेगरी तयारी सुरू गरिसकेको कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए। उडान पूर्वका प्रक्रिया पुरा गर्न सबै काम सुरू भइसकेको उनको भनाइ छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सले नारिता विमानस्थलमा हप्ताको ७ उडान गर्ने निर्धारण गरेर जापान सरकारलाई पत्र पठाइसकेको छ। सरकारी तहबाट हुने काम भइसकेको र मन्त्रालयले निर्णय गरेर पठाइसकेको मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिए।
मन्त्रालयको उक्त निर्णयपछि नेपाल एयरलाइन्सले जिएसए, ग्राउन्ड ह्यान्डलिङको व्यवस्था मिलाउन लागिरहेको र सेप्टेम्बरभित्र उडान गरिसक्ने श्रेष्ठले जानकारी दिए। उनका अनुसार एयरलाइन्सले टोकियो नजिकै रहेको नारिता विमानस्थलमा हप्ताको ३ उडान गर्ने छ। गएको साता आएको पहिलो वाइडी बडी जहाजले भने सुरुमा कतारको दोहामा उडान गर्ने छ।
जापानमा प्रक्रिया मिलेपछि त्यहाँ उडन गर्ने एयरलाइन्सको तयारी छ। लामो समयपछि पुनरावलोकन भएको हवाई सम्झौता अनुसार नेपाली एयरलाइन्सले जापानमा हप्ताको १४ उडान गर्नसक्छन्। नेपाल जापानबीचको सिधा हवाई सम्पर्क नहुँदा भाडा महँगो तगा झन्झटिलो यात्रा भएकोले पर्यटक तथा नेपालीहरूलाई समस्या परिरहेको थियो।
नेपाल एयरलाइन्सको उडानपछि त्यहाँ भाडा पनि सस्तो हुने र समयको पनि बचत हुने विश्वास गरिएको छ। यसबाट नेपालको पर्यटनमा टेवा पुग्ने एयरलाइन्सका महाप्रबन्धक सुगतरत्न कंसाकारको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.