Breaking News.... EverestOnlineKhabar
May 11, 2026

थाईल्यान्ड: बालकहरूको उद्धारमा ‘शून्य जोखिम’को रणनीति

Loading

बीबीसी । पानीको भेल पसेको थाईल्यान्डको गुफामा फसेका १२ विद्यार्थी र तिनका फुटबल प्रशिक्षकको उद्धार गर्ने क्रममा कुनै जोखिम नमोलिने एक अधिकारीले बताएका छन्।

उत्तरी थाईल्यान्डको बाढीग्रस्त गुफामा फसेका ११ देखि १६ वर्ष उमेरका बालकहरू र तिनका २५ वर्षीय फुटबल प्रशिक्षकले १० दिनपछि पहिलो पटक खानेकुरा र औषधि पाएका छन्।

चियाङ राईको गुफाभित्र उनीहरूलाई खाना र औषधि पुर्‍याउन एक चिकित्सक र एक नर्ससहित सात गोताखोरहरू गुफाको भित्री भागमा उनीहरू फसेको ठाउँसम्म पुगेका थिए। सम्पर्कविहीन भएको नवौँ दिनपछि उनीहरूलाई जीवितै फेला पारिएको थियो।

उनीहरूलाई कसरी सुरक्षित बाहिर ल्याउने भन्ने विषयमा उद्धारकर्ताहरूले आफ्नो ध्यान केन्द्रित गरिरहेका छन्। अधिकारीहरूले “शून्य जोखिम”को रणनीति बनाइने बताएका छन्।

चियाङ राईका प्रमुख प्रशासकले नोरोङ्साक ओसोथ्थानाकोले  भने, “हामी ती केटाहरूलाई गुफाबाट निकाल्न हतार गर्दैनौँ। जब शून्य जोखिमको अवस्था हुन्छ त्यसपछि उनीहरू एकएक गरेर गुफाबाट बाहिर निस्कन सक्छन्।”

त्यस क्षेत्रमा थप वर्षा भएमा पानीको भेल अझै बढ्ने र उनीहरूले आश्रय लिएको गुफाको हावा भरिएको भागमा जोखिम बढ्न सक्ने चिन्ताहरू व्यक्त भइरहेका छ्न्।

थाई अधिकारीहरूले उनीहरूलाई मङ्गलवार “चिकित्सकको निगरानीमा पचाउन सजिलो हुने खानेकुरा, भिटामिन र खनिज दिइएको” बताए। गुफाभित्र फसेका धेरै किशोरहरूले पौडी खेल्न नजान्ने हुनाले उनीहरूको उद्धारमा कठिनाइ उत्पन्न भएको बताइएको छ।

फसेका किशोरहरूलाई आफन्तसँग कुराकानी गर्न सहज बनाउन गुफाभित्र टेलिफोन जडान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.