Breaking News.... EverestOnlineKhabar
May 11, 2026

नियम निलम्वन गरेर आजै संसदबाट  चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी

Loading

काठमाडौ,असार ।
बहुचर्चित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ आज संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठकमा पेश गर्ने तयारी भएको छ । शुक्रबार संसद्मा दर्ता गरेको विधेयक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आजको बैठकमा पेश गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ । चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन गर्नका लागि ल्याइएको विधेयकमा अध्यादेशमा भएका प्रमुख व्यवस्थाहरु नै परिवर्तन गर्ने प्रस्ताव गरिएको छ ।
नयाँ विधेयकमा मेडिकल कलेजलाई सहजै सम्बन्धन दिन सकिने, काठमाडौं उपत्यकामा समेत मेडिकल कलेज खोल्न पाइने, आफ्नै अस्पताल नभए पनि कलेज खोल्न आशयपत्र दिन सकिने, सार्वजनिक कलेजमा ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था हटाइने लगायतका व्यवस्था गरिएको छ । विधेयकमा परिवर्तन गरिएका व्यवस्थाहरु जनमुखी भन्दा पनि व्यापारीमुखी भएको भन्दै स्वास्थ्य क्षेत्र सुधार अभियान्ता डा. गोविन्द केसीले हिजोदेखि जुम्लामा अनसन सुरु गर्नु भएको छ ।
सरकारले सत्तारूढ दलका नेता तथा कार्यकर्ताको स्वार्थ पूरा हुने गरी मेडिकल कलेजलाई सहजै सम्बन्धन दिन सकिने व्यवस्था गरेको भन्दै आलोचना भएको छ । डा.केसीसँग विगतमा भएका सहमती, माथेमा आयोगको सुझाव र अध्यादेशको व्यवस्था विपरितका व्यवस्था विधेयकमा गरिएको चिकित्सक संघका बरिष्ठ उपाध्यक्ष डा ढुण्डीराज पौडेलले बताउनु भयो । सहमती, सुझाव र अध्यादेशको व्यवस्थालाई ख्याल गर्दै तत्काल विधेयक ल्याउन माग गर्दै पुर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले केहीदिन अघि संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नु भएको थियो ।
एउटा विश्वविद्यालयले ५ भन्दा बढी कलेजलाई सम्बन्धन दिन नपाउने, अस्पताल तीन वर्ष पूर्ण रूपमा सञ्चालन भएको हुनुपर्ने, काठमाडौं उपत्यकामा १० वर्षसम्म सम्बन्धन नदिने अध्यादेशमा भएको प्रावधान हटाएर सरकारले प्रतिस्थापन विधेयक संसद्मा दर्ता गरेको हो । अध्यादेशमा रहेको सार्वजनिक शिक्षण संस्थाले मेडिकल र डेन्टल विषयको स्नातकस्तरको कार्यक्रममा कम्तीमा ७५ प्रतिशत सिट निस्शुल्क उपलब्ध गराउनुपर्ने प्रावधानसमेत विधेयकमा हटाइएको छ । विहान ११ बजेपछि बस्ने संसदको बैठकमा नियम निलम्बन गरेर विधेयकलाई आज नै पास गर्ने तयारी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.