![]()
बीबीसी । सिरियाको दक्षिणी क्षेत्रमा भएको हवाई तथा स्थल आक्रमणबाट जीवन जोगाउनका लागि पछिल्ला केही दिनयता करिब ४५ हजार सर्वसाधारण विस्थापित भएका राष्ट्रसंघले जनाएको छ। उक्त क्षेत्रमा द्वन्द्वका कारण यति ठूलो संख्यामा नागरिकहरू विस्थापित बनेको यो पहिलो घटना भएको राष्ट्रसंघले जनाएको छ।
रूसी सहयोगमा सिरियाली सरकारी फौजले विद्रोही नियन्त्रित दक्षिणी क्षेत्र खासगरी दारा प्रान्तमा हवाई तथा स्थल आक्रमण गरेको थियो। दक्षिणी क्षेत्रमा सरकारी फौज र प्रतिपक्षी समूहबीच भएका भिडन्तका कारण विस्थापित हुने क्रम पछिल्ला केही दिनमा ह्वात्तै बढेको उनको भनाइ छ।
विस्थापित बनेका अधिकांश पूर्वीभाग दाराको बाटो हुँदै जोर्डनी बन्द सिमानातर्फ भागेका छन्। जोर्डनले शरणार्थी राख्न नसक्ने भन्दै केही महिना पहिले सिरियासँगको आफ्नो सिमाना बन्द गरेको थियो।
संयुक्त राष्ट्रसङ्घले यसअघि सिरियाली सरकारी फौज र प्रतिपक्षी समूहबीच लडाइँ चर्केको स्थानमा करिब ७ लाख ५० हजार जनसङ्ख्या रहेको र द्वन्द्वबाट उनीहरूको जीवन खतरामा परेको चेतावनी दिइसकेको थियो।
सिरियामा सन् २०११ मा सुरु भएको द्वन्द्वका कारण अहिलेसम्म करिब ४ लाख मानिसको ज्यान गएको र ५० लाख मानिस विस्थापित भएको विभिन्न मानवअधिकारबादी समूहले बताउँदै आएका छन्।


