Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

काठमाडौं  । माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईमा डी र ई ग्रेड ल्याउने विद्यार्थीले ११ कक्षामा भर्ना हुन नपाउने भएपछि ‘कोही पनि विद्यार्थी अनुत्तीर्ण नहुने’ भनिएको शिक्षा प्रणालीका कारण दशौँ हजार विद्यार्थीको भविष्य अन्योलमा परेको शिक्षाविद्ले बताएका छन्।

सरकारले उनीहरूका लागि दुईवटा विकल्प दिएको छः प्राविधिक शिक्षा अर्थात् टी एसईई पढ्न वा पूरक परीक्षा दिन। तर प्राविधिकतर्फ त्यो माग धान्न सक्ने क्षमता नभएको प्राविधिक शिक्षा कार्यालयले जनाएको छ। १.६ भन्दा कम अङ्क अर्थात् जीपीए ल्याउने एसईई विद्यार्थीहरूको संख्या यसपाली पनि ७५ हजारको हाराहारीमा छ।

माध्यमिक शिक्षा परिषद्को मापदण्ड अनुसार १.६ भन्दा मुनिको ग्रेड ल्याउने विद्यार्थीहरू कक्षा ११ भर्ना हुन मिल्दैन। तर त्यति ठूलो संख्यामा माग धान्न सक्ने क्षमता समेत सरकारसँग नभएको प्राविधिक शिक्षा परिषद् सीटीइभीटीका सदस्य सचिव पुष्परमण वाग्ले बताउँछन्।

उनी भन्छन्, “एक लाखमा एकै लाख विद्यार्थी पढ्न आँउछन् कि आँउदैन त्यो अर्को विषय हो। तर पढ्न आउने विद्यार्थीलाई जीवन उपयोगी प्राविधिक शिक्षा दिन सक्ने क्षमता भने हामीसँग २९ हजारका लागि मात्रै छ।”

२ भन्दा कम ग्रेड ल्याउने विद्यार्थीले लोकसेवामा पनि प्रतिस्पर्धा गर्न नपाइने शिक्षा मन्त्रालयले जनाएको छ।

नयाँ प्रणाली शुरू भएको दुई वर्षमा झण्डै २ लाख त्यस्ता विद्यार्थी पढाइबाट वञ्चित भइसक्दा पनि सरकारले उचित व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना भएको छ। तर शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्याल भन्छन्, ” हामी सीटीइभीटी अन्तर्गत उलेख्य संख्यामा स्कूलहरू खोल्ने योजनामा छौँ। साउन, भदौमा त्यसलाई शुरूवाती प्रक्रियामा लग्नेछौँ।”

एकातिर कोही पनि विद्यार्थी अनुत्तीर्ण नहुने भन्ने मनोविज्ञान विद्यार्थीमा पर्न जाँदा उनीहरू पढाइप्रति गम्भीर हुने नगरेको विवरण सार्वजनिक भएको छ। अर्कोतिर कम ग्रेडका विद्यार्थीको नियमित पढाइको ढोका बन्द हुँदा त्यसले समग्र शिक्षा प्रणालीमा असर पर्ने ठानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.