![]()
एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’ मा उरुग्वे र रसियाबीच प्रतिस्पर्धा हुँदैछ । आयोजक राष्ट्र रसिया र उरुग्वे यसअघि नै नकआउट चरण प्रवेश गरिसकेका हुनाले यो खेलले समूह विजेता तथा उपविजेताको टुंगो लाग्नेछ ।
समूह चरणको अन्तिम खेल खेल्न लागेका रसिया र उरुग्वेले समान २—२ खेल खेलिसकेका छन् । दुई खेलमध्ये उरुग्वे र रसिया दुवैले दुवै खेलमा विजयी भएका छन् । उरुग्वेले यसअघि समूह चरणको पहिलो खेलमा इजिप्टलाई १—० गोलले पराजित गरेको थियो ।
दोस्रो खेलमा उरुग्वेले साउदी अरबलाई पनि १—० गोलले पराजित गरेको थियो । यता, रसिया दुवै खेलमा फराकिलो गोल अन्तरले जित निकालेको थियो । रसियाले पहिलो खेलमा साउदी अरबलाई ५—० गोलले पराजित गरेको थियो । रसियाले आफ्नो दोस्रो खेलमा इजिप्टलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो ।
अहिलेसम्म रसिया र उरुग्वेको एक पटक भेट भएको छ । सन् २०१२ मा भएको मैत्रीपूर्ण खेलमा उरुग्वे र रसियाबीचको खेल १—१ गोल बराबरीमा रोकिएको थियो ।
यो ए समूहकै अर्को खेलमा यसअघि नै विश्वकपबाट बाहिरिएका राष्ट्र इजिप्ट र साउदी अरबबीच प्रतिस्पर्धा हुदैछ ।


