Breaking News.... EverestOnlineKhabar
October 3, 2026

Loading

काठमाडौ,असार ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कोे तल्ला पार्टी कमिटीहरूको एकता प्रक्रियामा ढिलाई भएको छ । एकताका लागि भन्दै सातै प्रदेशसहित प्रवासको कार्यदल बनाए पनि कतिपय कार्यदलको बैठक समेत बस्न सकेको छैन । तीनवटा प्रदेश र प्रवास कार्यदलको मात्रै बैठक बसेको छ । सबै कार्यदलमा चार–चार सदस्य छन् । प्रदेश कार्यदललाई पार्टी र जनवर्गीय संगठनको प्रदेश कमिटी, जिल्ला कमिटीको तथ्यांक संकलन गरी केन्द्रीय सचिवालयमा बुझाउनुपर्ने जिम्मा छ ।
तत्कालीन एमाले र माओवादी केन्द्र एक भएर नेकपा गठन भएपछि प्रदेश र जिल्लामा राख्ने नेता, पार्टी क्रियाशील सदस्य र पार्टी कार्यालयको व्यवस्था गर्नुपर्नेछ । नयाँ बन्ने प्रदेश कमिटी बढीमा एक सय ७५ सदस्यीय र जिल्ला कमिटी एक सय २५ सदस्यीय राख्ने निर्णय भइसकेको छ । तत्कालीन दुवै पार्टीका संगठनलाई समायोजन गर्दै प्रदेश र जिल्ला कमिटीमा अध्यक्ष, सचिव र सचिवालय बनाउनुपर्नेछ ।
नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डले पार्टी तथा जनवर्गीय संगठनको प्रदेश कमिटी, जिल्ला कमिटीको तथ्यांक संकलन गरी केन्द्रीय सचिवालयमा बुझाउन १५ दिनको म्याद तोकेर ७ जेठमा निर्देशन दिएका थिए । तर, म्याद सकिएको १५ दिन बितिसक्दा पनि अधिकांश कार्यदलको औपचारिक बैठकसमेत बस्न नसक्दा एकता प्रक्रिया अघि बढ्न सकेको छैन । प्रदेश कार्यदलका सदस्यहरूले जिल्ला कमिटी सानो भएको भन्दै संख्या बढाउन माग गरेका छन् । जिल्ला कमिटी एक सय २५ सदस्यबाट बढाउन माग भएको छ । एकतामा सबैलाई समट्नुपर्ने भएकाले जिल्ला कमिटी बढाउन माग गरिएको नेतृ अष्टलक्ष्मी शाक्यले बताइन् ।
शनिबारको पहिलो स्थायी समिति बैठकमा समेत नेताहरूले जिल्ला कमिटी बढाउन माग गरेका थिए । जिल्ला कमिटी बढाउन माग भएकाले पनि एकता प्रक्रिया अझै धकेलिने देखिन्छ ।
नारायणकाजी श्रेष्ठ, विन्दा पाण्डे, युवराज कार्की र टेकबहादुर पाठक रहेको प्रदेश कार्यदलको बैठक १ असारमा काठमाडौंमा बस्यो । नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा प्रवास निर्देशिका बनाउने, प्रवासमा संगठनिक संरचना व्यवस्थित बनाउने विषयमा छलफल भयो । दुवै पार्टीको तथ्यांक संकलनको काम पनि सुरु गरिएको छ ।
पार्टी कमिटी एकताको कार्यादेश
– प्रदेश र जिल्ला संगठन कमिटी गठन गर्न अध्यक्ष, सचिव
र सदस्यहरूको नामावलीसहितको प्रस्ताव तयार गर्ने ।
– प्रदेश तथा जिल्ला संगठन कमिटीको सचिवालय गठन गर्न
कमिटीको कुल सदस्य संख्याको बढीमा एकतिहाइ नामावलीसहितको प्रस्ताव तयार गर्ने ।
– प्रदेश संगठन कमिटी गठनसम्बन्धी प्रस्तावमा केन्द्रीय कमिटीका
सदस्यहरूको नाम समावेश नगर्ने ।
– कमिटीका लागि पदाधिकारी तथा सदस्यहरूको छनोट गर्दा वरिष्ठता, क्षमता र एकताको भावनालाई आधार बनाउने ।
– प्रदेश तथा जिल्ला संगठन कमिटीको कार्यालय निर्धारण गर्ने ।
– उपरोक्तबमोजिमको सिफारिस वा निर्णय गर्दा तत्कालीन दुई पार्टीका सम्बन्धित कमिटीमा रहेकाहरूको राय–सुझाब लिने ।
एकताका लागि कुन प्रदेशमा के–के भयो ?
प्रदेश १ः छलफलसमेत भएन, प्रदेश १ मा भीम आचार्य, राम कार्की, शेरधन राई र सावित्रीकुमार काफ्ले कार्यदलमा छन् । प्रदेश कार्यदलको औपचारिक बैठक पनि बस्न नसकेको सदस्य काफ्लेले बताए । केही दिनभित्रै बैठक बस्ने उनले बताए ।
प्रदेश २ःबैठक आज, प्रदेश २ को कार्यदलमा सत्यनारायण मण्डल, विश्वनाथ साह, नागेन्द्र चौधरी र प्रभु साह छन् । अहिलेसम्म औपचारिक बैठक बस्न नसकेको यो प्रदेशमा बुधबारका लागि बैठक बोलाइएको विश्वनाथ साहले बताए ।
प्रदेश ३ःनियमावली पर्खिंदै,अष्टलक्ष्मी शाक्य, अग्निप्रसाद सापकोटा, काशीनाथ अधिकारी र नारायण दाहाल सदस्य रहेको प्रदेश ३ कार्यदलले भने औपचारिक बैठक गरिसकेको छ । तर, प्रदेशदेखि जिल्ला कमिटी सानो बनाउने निर्देशन केन्द्रबाट भएकाले सबैलाई समेट्न गाह्रो पर्ने हुँदा अगाडि बढ्न गाह्रो भएको अष्टलक्ष्मी शाक्यले बताइन् । पार्टीको विधान र नियमावली नबन्दा पनि अगाडि बढ्न समस्या भएको उनको भनाइ छ ।
प्रदेश ४ःतथ्यांकसहित सुझाब लिँदै, किरण गुरुङ, हितराज पाण्डे, जगत विश्वकर्मा र हरि अधिकारी रहेको कार्यदलको पहिलो बैठक २३ जेठमै बसेको हो । बैठकले काम छिटो सकाउन किरण गुरुङलाई अध्यक्ष र हितराज पाण्डे सचिव बनाएर काम गरिरहेको छ । जिल्लाको काम सजिलो बनाउन हरेक जिल्लामा पाँच–पाँचजना हुने गरी जिल्ला कार्यदल बनाएर तथ्यांकसहित सुझाब लिइरहेको सदस्य हरि अधिकारीले बताए ।
प्रदेश ५ःजनवर्गीय संगठनको तथ्यांक संकलन,प्रदेश ५ मा शंकर पोखरेल, मणि थापा, दलबहादुर राना र गणेशमान पुन कार्यदलमा छन् । २५ असारमा बुटवलमा कार्यदलको पहिलो बैठक बसेको मणि थापाले बताए । तीनपटक बैठक बसिसकेको कार्यदलले जिल्लामा हुने विभिन्न कार्यक्रममा एउटै पार्टी भई समन्वय गरेर जान दिर्नेशन दिइसकेको छ । दुवै पार्टीका जनवर्गीय संगठन र सदस्यको तथ्यांक संकलन पनि गरिएको थापाले बताए ।
कर्णाली प्रदेशःअनौपचारिक छलफलमै सीमित,प्रदेश ६ मा युवराज ज्ञवाली, जनार्दन शर्मा, यामलाल कँडेल र मायाप्रसाद शर्मा कार्यदलमा छन् । अनौपचारिक छलफल मात्र गरेको कार्यदलका सदस्य युवराज ज्ञवालीले बताए । नियमावली नहुँदा सांगठनिक रूपमा व्यवस्थापन गर्न कठिन भएको पनि उनको भनाइ छ ।
प्रदेश ७ःऔपचारिक बैठक बस्ने तयारीमै बिते दिन,प्रदेश ७ मा भीम रावल, लेखराज भट्ट, कर्ण थापा र लक्ष्मीदत्त जोशी कार्यदलमा छन् । अनौपचारिक छलफल भए पनि औपचारिक छलफल हुन नसकेको कार्यदलका सदस्य लेखराज भट्टले बताए । केही दिनभित्रै कार्यदलको बैठक बस्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed