![]()
एजेन्सी,असार ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारका लागि सिफारिस भएको छ । नर्वेका दुई सांसदले ट्रम्पको नाम शान्ति पुरस्कारका लागि सिफारिस गरेको नर्वेली समाचार माध्यमले जनाएका छन् । सिफारिस गर्नेमा नर्वेका एन्टि स्टाब्लिसमेन्ट प्रोग्रस पार्टीका सांसदद्वय क्रिस्टियन ट्रेब्रिङ र पेर विली अमुन्डसेन रहेका छन् ।
उत्तर कोरियाली नेता किम जुङ उनसँग गरेको ऐतिहासिक भेटले सम्बन्ध सुधारसँगै आणविक निशन्त्रिकरण तथा शान्तिमा महत्वपूर्ण टेवा दिएकोमा ट्रम्पको नाम नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरिएको हो । यही मंगलवार डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच विश्व शान्तिको ऐतिहासिक दस्तावेजमा हस्ताक्षर भएको थियो । यसमा उत्तर कोरियाले परमाणु निरस्त्रीकरणको दिशामा काम गर्ने प्रतिवद्धता गरेको थियो ।
ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लासिग मनोनित गर्दै नर्वेली नेताले भनेका छन्ः‘भविष्यमा विश्व शान्ति सुनिश्चित गर्न ट्रम्पलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्न जरुरी छ । सोही कार्यका लागि प्रक्रिया चलिरहेको छ ।’
सांसदद्वयले यस्ता प्रक्रिया पहिलो पटक नभएको पनि जिकिर गरेका छन् । तर, उनीहरुको बिचारमा ट्रम्प शान्ति पुरस्कारका लागि योग्य व्यक्ति हुन् । यसअघि २०१८ मेमा अमेरिकी रिपब्लिक पार्टीका केही नेताहरु पनि ट्रम्पलाई शान्ति पुरस्कारका लागि सिफारिस गरेका थिए । उक्त समय अमेरिकी हाउस अफ रिपब्लिकनले नर्वेजियन नोबेल कमिटीलाई ट्रम्पलाई शान्ति पुरस्कारका लागि मनोनित गर्न पत्राचार गरेको थियो ।
यसअघि २००९ मा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा, २००७ मा पूर्व उपराष्ट्रपति अल गोरे र २००२ मा पूर्व राष्ट्रपति जिम्मि कार्टरलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो ।


