![]()
एजेन्सी,जेठ ।
फुटबलको महाकुम्भ विश्वकप फुटबलको उद्घाटन खेलमा आज आयोजक रसियाले साउदी अरबसँग प्रतिस्पर्धा गर्दैछ । विभिन्न सांस्कृतिक कार्यक्रम सकिएपछि नेपाली समयअनुसार बेलुकीको पौने ९ बजे विश्वकपको पहिलो खेल रसिया र साउदी अरबबीच हुनेछ । रसियाको राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा यी दुई टिमले प्रतिस्पर्धा गर्दैछन् ।
हेड टु हेड
रसिया र साउदी अरबबीचमा अहिलेसम्म १ खेल मात्रै भएको छ । सन् १९९३ मा भएको एक मैत्रीपूर्ण खेलमा साउदी अरबले रसियालाई पराजित गरेको थियो । त्यसखेलमा उत्कृष्ट प्रदर्शन गर्दै साउदी अरबले रसियालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो । त्यसपछि साउदी अरब र रसियाबीचमा अहिलेसम्म भेट भएको छैन ।
विश्वकपमा रसिया र साउदी अरबको यस्तो छ इतिहास
रसिया
पहिलो पटक विश्वकप फुटबलको आयोजना गर्न लागेको रसिया फुटबलमा खासै चम्किने राष्ट्र होइन । न त रसियाले फुटबलको ठूला प्रतियोगिता नै जितेको छ, न फुटबलमा कुनै फड्को नै मारेको छ तर, यसपटक भने विश्वकप फुटबलको सफल आयोजना गर्दै इतिहास बनाउने सुरमा छ ।
यसअघिका विश्वकपमा रसियाको उपस्थिति निरासाजनक रहेको थियो भने कुनै खेलमा त सहभागिता मात्रै जनाएको जस्तो देखिएको थियो । तर, २०१८ को विश्वकप फुटबलको आयोजना गर्ने हिम्मत राख्दै फुटबलको कुम्भ मेला सफल पार्ने योजनामा देखिएको छ । यो रसियाको लागि ऐतिहासिक हुन सक्छ ।
७ पटक विश्वकप खेलेको रसिया सन् १९६६ मा इंग्ल्याण्डमा सम्पन्न भएको विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो । त्यो पनि सोभियत संघको हैसियतमा । त्यसपछिको विश्वकपका खेलमा भने रसियाले राम्रो प्रदर्शन गर्न सकेको छैन । सातपटक विश्वकपको यात्रा पार गर्दा रसिया तीन पटकसम्म क्वाटरफाइनल पुगेको छ ।
साउदी अरब
साउदी अरब फुटबलमा एसिया महादेशको पावर हाउस जस्तै हो । विश्वकप साउदी अरबको उदय निकै पछि भएको हो । अमेरिकामा सम्पन्न सन् १९९४ को विश्वकपमा साउदी अरबले पहिलो पटक सहभागिता जनाएको थियो । विश्वकपमा डेब्यु गरेकै बेला साउदी अरब अन्तिम १६ सम्म पुग्न सफल भएको थियो । विश्वकपमा साउदी अरबको अहिलेसम्मको सबैभन्दा ठूलो सफलता नै त्यहि हो । त्यो विश्वकपमा साउदी अरबले समूह चरणको खेलमा बेल्जियमलाई १–० र मोरक्कोलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । तर नेदरल्याण्ड्ससँग २–१ गोलअन्तरले साउदी अरब पराजित भएपनि विश्वकपको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको थियो । प्रिक्वाटरफाइनलको खेलमा स्वीडेनसँग ३–१ गोलअन्तरले पराजित हुदै विश्वकपबाट बाहिरिएपनि मुस्लिम राष्ट्र साउदी अरबले उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान तानेको थियो ।
त्यसपछि सन् साउदी अरब लगातार तीन विश्वकपमा छनोट भएको थियो । सन् १९९८, २००२ र २००६ मा भएको विश्वकपमा साउदी अरब छनोट भएको थियो । यद्यपी यी तीन विश्वकपमा भने साउदी अरब समूह चरणबाटै बाहिरिएको थियो । त्यसपछिका २०१० मा दक्षिण अफ्रिकामा र २०१४ ब्राजिलमा भएको विश्वकपमा भने साउदी अरब छनोट हुन सकेन ।


