Breaking News.... EverestOnlineKhabar
October 3, 2026

देउवाको निरंकुशता र ओलीको अधिनायकवादबिरुद्ध लडने केसीको उद्घोष (भिडियोसहित)

Loading

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व मन्त्री अर्जुननरसिंह केसीले पार्र्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी ओलीबिरुद्ध लडाईंको उद्घोष गरेका छन ।

रिपोर्टस क्लबले आयोजना गरेको अन्तक्रियामा बोल्दै नेता केसीले पार्टी सभापति देउवाको निरंकुशता र प्रधानमन्त्री ओलीको अधिनायकवादविरुद्ध लड्न सबैलाई तयार भएर बस्न पनि आग्रह गरे ।

उनले भने, ‘सभापतिको नाताले उहाँले पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्छ, सबै नेताहरुलाई मिलाउनुपर्छ, पार्टीलाई संरचनागत रुपमा चलाउनुपर्छ, त्यो अहिले सभापतिजीले सक्नुभएको छैन, यदि उहाँ मिल्न तयार हुनुभएन भने हामी संघर्ष गर्न तयार छौं ।’ उनले सभापति देउवाले पदाधिकारी मनोनित एकलौटी ढंगले गर्नु निरंकुशताको अभ्यास भएको आरोप लगाए ।

नेता केसीले आगामी पाँच वर्ष्भित्र पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गर्न सक्ने तागत आफूहरुसँग रहेको पनि जिकिर गरे । यसको लागि पार्टी भित्रै सुधारको आवश्यकता रहेको उनले औंल्याए । केसीले आफू सभापति देउवाको कार्यशैली, सामन्तवादी प्रवृत्ति र स्वेच्छचारीको विरोधी रहेको बताउँदै यही तरिकाले पार्टीले पूर्नजीवन नपाउने दाबी गरे ।

नेता केसीले आफू सभापतिले तत्काल राजीनामा दिनुपर्छ भन्ने पक्षमा नरहेको पनि सुनाए । वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र आफूबीच पछिल्लो समय भएको सहमति पार्टीलाई एक ढिक्का बनाउनको लागि नै भएकोले सभापति देउवापनि सहमतिमा आउनुपर्ने उनको माग छ ।

नेता केसीले प्रधानमन्त्री ओली अधिनायकवादी शैलीका अघि बढेको आरोप लगाउँदै भने, ‘ दुई तिहाईको समर्थन, प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको चाहना, शक्ति केन्द्रीकृत, बिपक्षीप्रति असहिष्णु, संवैधानिक निकायको रिक्तता यी सबै किन चाहियो ? ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed