![]()
काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिबिरुद्ध आक्रामक आन्दोलन थालेको नेपाल बिद्यार्थी संघ (नेबिसंघ) ले आइतबार काठमाडौंमा बिशाल सिठी जुलुस प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेसको भातृ संस्था नेबिसंघले एकपछि अर्को गरी आन्दोलन कडा बनाउँदै जुलुस निकालेको हो । सरकारले अन्तर्रा्ष्ट्रिय मूल्य समायोजन गरेको नाममा पटकपटक पेट्रोलियम पदार्थको मूल्य बढाएर सर्वसाधारणको ढाड सेक्ने काम गर्दै आएको नेबिसंघको आरोप छ ।

जुलुसमा सहभागी अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष पुष्प शाही, महामन्त्री सरोज थापा लगायतले जनताको आवाज नसुन्ने भएपछि सरकारको कान खोल्न नेबिसंघ सडकमा ओर्लेको बताए । उनीहरुले भाषणमा जनता भन्ने तर व्यवहारमा भ्रष्टाचार र अनियमिततामा मात्र रुची राख्ने सरकारका मन्त्री नालायक भएको बताए ।

सरकारले भने अन्तर्रा्ष्ट्रिय बजारमै मूल्य बढेकाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन नसकिने प्रतिक्रिया दिँदै आएको छ।
संघले जेठ २७ गते सबै जिल्ला सदरमुकाममा सिठ्ठी जुलुस गर्ने, २९ गते मसाल जुलुस र ३१ गते पुत्ला दहन गर्ने कार्यक्रम राखेको छ । पछिल्लो समय जेठ १९ गते राति १२ बजेदेखि लागू हुने गरी सरकारले पेट्रोलियम पदार्थमा ३ रुपैयाँका दरले भाउ बढाएको थियो।


