![]()
काठमाडौ,जेठ ।
नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले आफ्नो विधान तयार पारेको छ । विधानमा दुवै अध्यक्षलाई समान अधिकार दिइएको छ । नेकपाले यसअघि पार्टी दर्ताका लागि निर्वाचन आयोगमा बुझाएको विधानलाई अन्तिम रुप दिन पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई जिम्मा दिएको थियो । प्रचण्डले बुधबार केही संशोधनसहित विधानलाई अन्तिम रुप दिएका हुन् ।
प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ले भनेः‘विधान, राजनीतिक प्रतिवेदन सबै टुंगो लागिसक्यो, एक दुई दिनमा छापिएरै आउँछ ।’ सापकोटाका अनुसार, विधानले दुवै अध्यक्षलाई समान हैसियत र अधिकार प्रदान गरेको छ । आपसी समझदारीमा बैठक बोलाउने, दुवै अध्यक्षले हस्ताक्षर गरी आन्तरिक पार्टी कमिटीमा सर्कुलर गर्नेलगायतका अधिकार पनि विधानले प्रत्यायोजन गरेको छ ।
राजनीतिक दस्तावेजमा प्रचण्डको नेतृत्वमा भएको १० वर्षे जनयुद्धले उत्पीडित जाति, वर्ग, लिंग र समुदायलाई जागरुक बनाएको र त्यसले गणतन्त्र स्थापनामा भूमिका खेलेको शब्दावली समेत प्रयोग गरिएको छ । यसअघि निर्वाचन आयोगमा बुझाइएको राजनीतिक दस्तावेजमा प्रचण्डको नाम उल्लेख थिएन ।
त्यसैगरी, राजनीतिक दस्तावेजमा पार्टीको राजनीतिक कार्यदिशा समाजवाद उन्मुख जनताको जनवाद हुने उल्लेख छ । यसैबीच, नेपाल कम्युनिस्ट पार्टीले कानुनी मान्यता पाएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण गरी बनाइएको नयाँ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) लाई निर्वाचन आयोगले दर्ता गरेसँगै कानुनी मान्यता पाएको हो ।


