![]()
काठमाडौ,जेठ ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको आन्दोलन चर्किदै गएको छ । प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई दबाब दिन नेविसंघले मंगलबार ७७ जिल्ला प्रशासन कार्यालयमा मूल्यवृद्धि फिर्ता लिन ज्ञापन पत्र बुझाएको छ।
नेविसंघका अध्यक्ष नैनसिंह महरले भनेः‘सरकारले गरीब जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नलिएसम्म संघर्ष चलिरहन्छ ।’ महरका अनुसार आन्दोलन अन्तर्गत आज देशभरका सदरमुकाममा १ घन्टा यातायात चक्काजाम गरिएको छ । त्यसपछि जिल्ला प्रशासन कार्यालय परिसरमा धर्ना दिने कार्यक्रम छ।
यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई भेटेर नेविसंघलगायत विद्यार्थी संघसंगठनले यसअघि नै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरिसकेका छन्। मन्त्री यादवले संसदमा अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार समायोजन गर्दा तेलको भाउ बढेको जवाफ दिएका थिए ।


