![]()
एजेन्सी। सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । शनिबार भएको खेलमा सशस्त्रले प्रदेश नम्बर–१ लाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गरेको सशस्त्रले प्रदेश–१ लाई ४२औं ओभरमा १२७ रनमै अलआउट गर्यो । प्रदेश–१ का लागि ओपनर सन्दीप ढुंगानाले सर्वाधिक २९ रन जोड्दा मन्जित थापाले २७ तथा पुष्प थापाले २० रनको योगदान गरे ।
सशस्त्रका लागि करण केसी, भुवन कार्की, बसन्त रेग्मी र अमरसिंह राउटेलाले समान २/२ विकेट लिए ।
जवाफमा १२८ रनको चुनौती सशस्त्रले मात्र १६.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । सशस्त्रका लागि अनिलकुमार साहले अविजित ६२ रनको योगदान गर्दा पृथु बास्कोटाले अविजित ३२ रन जोडे । जितसँगै २ खेलबाट ४ अंक जोडेको सशस्त्र समूह ‘ए’को शीर्ष स्थानमा रहेको छ । सबै ४ खेल खेलिसक्दा एक खेलमात्र जितेको प्रदेश नम्बर–१ पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।


