![]()
एजेन्सी,जेठ ।
रुस विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा जित हात पारेको छ । अर्जेन्टिनाले हाइटीलाई ४–० गोलअन्तरले पराजित गरेको हो । आज विहान भएको खेलमा अर्जेन्टिनाले सहज जित निकालेको हो । इस्टाडियो अबलेर्टो जोस अर्मान्डो रंगशालामा भएको खेलमा घरेलु टोली अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक गोल गरे ।
खेलको १७औं मिनेटमा नै मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएको थिए । पहिलो हाफसम्म १–० गोलअन्तरले अघि रहेको अर्जेन्टिनाले दोस्रो हाफमा थप ३ गोल गरेको थियो । खेलको ५८औं मिनेटमा अर्को गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई २–० गोलको अग्रता दिलाएका थिए । खेलको ६६औं मिनेटमा कप्तान मेस्सीले अर्को गोल गर्दै ह्याट्रिक गोल पुरा गरेका थिए । त्यस्तै, खेलको ६९औं मिनेटमा सर्जियो अगुइरोले गोल गर्दै अर्जेन्टिनालाई ४–० गोलको जित दिलाएका हुन् ।


