![]()
एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै चेन्नाईले ११ औं संस्करणको आईपीएलको उपाधि उचालेको हो ।
१७९ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले निर्धारित ओभर सकिन ९ बल बाँकी छदै २ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै तेस्रो पटक आईपीएलको उपाधि चुमेको हो । चेन्नाईलाई उपाधि दिलाउन ओपनर शेन वाटसनले शतकीय पारी खेले । उनले अविजित ११७ रन बनाए । ५७ बलको सामना गरेका वाटसनले ११ चौका र ८ छक्का प्रहार गरेका थिए । ११ औं संस्करणको आईपीएलमा उनको यो दोस्रो शतक हो ।
त्यस्तै, सुरेश रैनाले ३२ रन बनाए भने आम्बत्ती रयुडुले १६ रनको योगदान दिए ।
यसअघि मुम्बईको वाङखडे क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको थियो । हैदरावादका लागि केन विलियम्सनले ४७ रन बनाएका थिए । त्यस्तै, युशुफ पठानले अविजित ४५ रन बनाए । उनले २५ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरेका थिए । त्यस्तै, शिखर धवनले २६ र शकिब अल हसनले २३ रनको योगदान दिए ।
चेन्नाईले यसअघि सन् २०१० र २०११ को आईपीएलको उपाधि जितेको थियो ।


