![]()
नवलपरासी,जेठ ।
पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम सिमेन्टले व्यावसायिक उत्पादन थालेको छ । नेपालको शारदा समूह र चीनको होङ्सी समूहले करीब रु ३६ अर्बको लगानीमा नवलपरासीको सर्दीमा स्थापना गरेको उद्योगले उत्पादन शुरु गरेको हो । उद्योगबाट पहिलो चरणमा दैनिक छ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य रहेको छ ।
पूर्ण क्षमता १२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको उद्योगले जनाएको छ । सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्ट वा ब्राण्डको नाम‘होङ्सी’राखिएको छ।अहिलेसम्म नेपालमा सबैभन्दा बढी अर्घाखाँची सिमेन्टले तीन हजार टन सिमेन्ट उत्पादन गर्दै आएको थियो ।‘केही दिनमै बजारमा सिमेन्ट आउँछ’, होङ्सी शिवम सिमेन्टका सञ्चालकमध्येका सतिश मोरले जानकारी दिए । उद्योगका अनुसार ठूलो क्षमताको सिमेन्ट उत्पादन शुरु भएकाले अब राम्रो र बलियो बजार बन्ने छ ।
उद्योगमा करीब एक हजार जना कार्यरत छन् । कारखाना पूर्णरुपमा सञ्चालनमा आएपछि दैनिक एक हजार नेपाली र ४०० भन्दा बढी चिनियाँ कामदारले समेत रोजगारी पाउने कम्पनीले जनाएको छ । कारखानाले सिमेन्ट उत्पादनमा प्रयोग हुने ऊर्जा नै प्रयोग गरेर थप १२ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत राखेको छ ।


