![]()
उदयपुर,जेठ ।
मनाङ मर्स्याङ्दी क्लब उदयपुरमा जारी पाँचौं उदयपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। थरुहट रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सुनसरी ११ लाई ३ – २ गोलले पराजित गर्दै मनाङले फाइनल यात्रा तय गरेको हो। मनाङको लागि खेलको पहिलो हाफको सुरुवाती समयमै उपहार गोल दिएको थियो। १०औं मिनेटमा सुनसरीले पहिलो आत्मघाती गोल गरेको थियो।
२५औं मिनेटमा विदेशी खेलाडी भिक्टोरले गोल गरेका थिए भने दोस्रो हाफको ३०औं मिनेटमा विमल रानाले गोल गर्दै आफ्नो टिमलाई ३–२ को अग्रता दिलाउँदै फाइनलमा पुर्याएका हुन्। सुनसरी ११ को तर्फबाट भने निसान लिम्बू र सौजन याक्खाले १÷१ गोल गरेका थिए। निसानले पेनाल्टीमा गोल गरेका हुन्।
खेलको म्यान अफ द म्याच मनाङका द्रोण थापा घोषित भए। उनले नगद ७ हजार रुपैयाँ पाए। उपाधिका लागि शनिबार थ्रीस्टार क्लब र मनाङबीच भिडन्त हुनेछ। विजेताले नगद ५ लाख पाउनेछ भने उप–विजेताले ३ लाख पाउनेछ। प्रतियोगिताभरिको उत्कृष्ट खेलाडीले नगद ५० हजार पाउने आयोजकले जनाएका छन् ।


