![]()
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा जानकी मन्दिरमा राखिएको नेपालको राष्ट्रिय झण्डाको आकार र स्वरुप फरक भएकोबारेमा सम्वद्ध अधिकारीहरुसँग स्पष्टिकरण मागेको छ ।
संघीय मामिला मन्त्री लालबाबु पण्डितले राष्ट्रिय झण्डाको स्वरुप र आकार फरक पारेर राखिनु गम्भीर गल्ती र संविधान विपरीत रहेको भन्दै प्रदेश २ का मुख्य सचिवसहित सरकारी अधिकारीहरुसँग स्पष्टिकरण मागेका हुन् ।
दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने स्थानमा राखिएको नेपालको झण्डाको स्वरुप र आकार किन फरक भयो भनेर चारवटा सरकारी निकायका अधिकारीहरुसँग तीन दिने स्पष्टिकरण मागिएको हो ।
प्रदेश सरकारका प्रमुख सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, धनुषका प्रमुख जिल्ला अधिकारी र जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग स्पष्टिकरण मागिएको छ ।


