Breaking News.... EverestOnlineKhabar
October 2, 2026

पाकिस्तानद्वारा अमेरिकी कूटनीतिज्ञलाई देश छाड्न रोक

Loading

बीबीसी । पाकिस्तान सरकारले एक मोटरसाइकल यात्रीलाई गत महिना सवारी दुर्घटनामा मारेको आरोपमा एकजना अमेरिकी कूटनीतिज्ञलाई देश छाड्न रोक लगाएको छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सरकारले आफ्ना सैनिक सहचारी कर्णेल जोसेफ एमानुएल हललाई लिन शनिवार विमान पठाएको थियो। तर पाकिस्तानले उनलाई जान दिएन।

यसअघि अमेरिकी अधिकारीहरूले कूटनीतिक छुट पाउने भन्दै पक्राउ गर्न वा कर्णेल हलमाथि मुद्दा चलाउन नमिल्ने तर्क गरेका थिए। उक्त घटनाले दुई देशबीच राजनीतिक तनाव बढाएको छ।

इस्लामाबाददेखि उत्तरमा पर्ने दामन-ए-कोहमा गत एप्रिल ७ मा २२ वर्षीय आतीक बेगको दुर्घटनामा मृत्यु भएको थियो। सीसीटीभी फूटेजमा कर्णेल हलले चलाएको भनिएको तीव्र गतिमा रहेको सेतो रंगको गाडीले रातो ट्राफिक बत्तीको बेवास्ता गर्दै ठक्कर दिएको र त्यसपछि गति कम गरेको देखिन्छ।

कर्णेल हलले रक्सी खाएर गाडी चलाएको भन्ने पाकिस्तानी सञ्चारमाध्यमहरूको दावीलाई अमेरिकी दूतावासले अस्वीकार गरेको छ। मृतकका बुवाले कर्णेल हलमाथि इस्लामाबाद उच्च अदालतमा मुद्दा चलाइनुपर्ने माग गरेका छन्।

शुक्रवार उक्त अदालतले कर्णेल हलले पूर्ण रूपमा छुट पाउन नसक्ने बताएको थियो। उनलाई यात्राका लागि ‘कालोसूची’मा राखिसकिएको छ, जसको अर्थ हो विमानस्थलहरूले उनलाई देश छाड्न दिने छैनन्। शनिवार प्रकाशमा आएको विवरणबारे दुवै देशका अधिकारीहरूले औपचारिक रूपमा कुनै प्रतिक्रिया जनाएका छैनन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ वर्षका अवसरमा गरेको एउटा ट्वीटमा पाकिस्तान ‘झुटो र बेइमान’ भएको आरोप लगाएपछि वाशिङटन र इस्लामाबादबीचको सम्बन्ध चर्चामा रहिआएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed