![]()
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर शुक्रवार र शनिवार दुई दिन काठमाडौं उपत्यकाको यातायात व्यवस्था प्रभावित हुने भएको छ। मोदी सवार हुने समयभन्दा अगाडिदेखि नै सडक खाली गरिने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले केही समयका लागि सार्वजनिक सवारी अवरुद्ध हुने जनाएको छ ।
मोदी आउने समयमा सडक दुई तर्फी बन्द हुनेछ । मोदी शुक्रवार बिहान साढे ९ बजेतिर जनकपुर आइपुग्ने छन्। जनकपुरमा जानकी मन्दिर दर्शन र नागरिक अभिनन्दनपछि करिब साढे १ बजे उनी हेलिकप्टरबाट त्रिभुवन विमानस्थलमा अवतरण हुनेछन्। मोदी विमानस्थलबाट सिधै बौद्धस्थित हायत होटल जानेछन्। होटल प्रस्थान गर्दा कोटेश्वर, गौशाला, चाबहिल, बौद्धको सवारी आगमनमा असर पर्नेछ।
दिउँसो ४ बजे मोदीलाई टुँडिखेलमा ’गार्ड आफ अनर’ दिने कार्यक्रम रहेको छ। बौद्धबाट उनी चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै सैनिक मञ्च टुँडिखेल पुग्नेछन्। ३ देखि ५ बजेसम्मका लागि यस क्षेत्रमा सडक खाली गरिने हुँदा यातायात प्रभावित बन्ने छ।
मोदी दिउँसो साढे ४ बजेतिर उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटका लागि कान्तिपथस्थित बहादुर भवन पुग्ने छन्। यो समयमा जमल, दरबारमार्ग लगायतका सडक बन्द हुने छन।
करिब आधा घण्टाको भेटपछि मोदी राष्ट्रपति निवास पुग्नेछन्। ४ बजेदेखि नै लैनचोर, महाराजगञ्ज क्षेत्रका सवारी आवागमन बन्द गरिने छ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि भारतीय प्रधानमन्त्री मोदी महाराजगञ्ज, चाबहिल, गौशाला हुँदै द्वारिकाज होटेल पुग्नेछन्। द्वारिकाजमा विभिन्न दलका नेतासँग भेटघाट कार्यक्रम रहेको छ।
शनिवार बिहानै उनी हायतबाट मुक्तिनाथका लागि विमानस्थल पुग्नेछन्। चाबहिल, मित्रपार्क, गौशाला क्षेत्रमा सार्वजनिक तथा निजी सवारीलाई प्रवेशमा रोक लगाइने छ।
करिब साढे १० बजे उनी मुक्तिनाथको दर्शन गरेर काठमाडौँ फर्किने छन्। त्यसपछि विमानस्थलबाट पशुपतिनाथ दर्शन गर्ने जाने कार्यक्रम छ। एक घण्टा दर्शनपछि प्रधानमन्त्री मोदी हायतमा फर्कने छन्।
दिउँसो २ बजे प्रधानमन्त्री मोदी नागरिक अभिनन्दनका लागि चाबहिल हुँदै राष्ट्रिय सभागृह पुग्ने छन्। यो समयमा बानेश्वर, तीनकुने, थापाथली लगायतका सवारी प्रभावित हुने छ।


