![]()
काठमाडौं । एमाले अध्यक्ष एवम प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच पुनः खटपट सुरु भएको छ । राष्ट्रपति निर्वाचनको समयमा नजिकिएको सम्बन्ध सरकारले नीति कार्यक्रम र बजेट निर्माण बनाउनेक्रममा आइपुग्दा टुटने अवस्थामा पुगेको छ ।
प्रधानमन्त्री एवम पार्टी अध्यक्ष ओलीले राष्ट्रपतिमा बिद्या भण्डारीलाई उम्मेदवार बनाउँदा वरिष्ठ नेता माधव नेपाललाई एकीकृत पार्टीको अध्यक्ष बनाउने बचन दिनुकासाथै पार्टी र सरकारका हरेक काममा सल्लाह गरेर जाने प्रतिबद्धता जनाएका थिए । तर, प्रधानमन्त्री ओलीले एकीकृत पार्टीको अध्यक्ष बनाउने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि बचन दिएकाले नेपाल बिच्किएका छन । यो बिचमा दाहाल र नेपालबीच पनि कुराकानी भएको छ ।
यस्तै, सरकारका नीति कार्यक्रम र बजेट बनाउने सन्दर्भमा पनि प्रधानमन्त्री ओली र उनको समूहले माधव नेपाल समूहका नेताहरुलाई बाइकट गरेको छ । नेपाल पक्षका मन्त्री र सांसदहरुले यस सम्बन्धी गुनासो गरेपछि नेपाल प्रधानमन्त्री ओलीसंग रुष्ठ भएका छन । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा त नेता नेपालले सरकारको कार्यशैलीप्रति सार्वजनिकरुपमै असन्तुष्टि व्यक्त गरेका छन् । बंगलादेश दुतावासले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सुशासन र विकास, निर्माणको कामलाई प्राथमिकता दिन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
नेता नेपालले स्रोतले सम्पन्न रहेको नेपाललाई समृद्ध बनाउने सोच सरकारमा अभाव रहेको पनि स्मरण गराए । ‘सरकारले मुलुकमा रहेको स्रोतलाई परिचालन गरेर मुलुकलाई समृद्ध बनाउने अवसर गुमाउन हुदैन, तर त्यसतर्फ सरकारले ध्यान दिएको देखिदैन’ नेता नेपालको भनाई छ ।
वरिष्ठ नेता नेपालले नेपालको विकासका लागि जलस्रोत, उर्जा, कृषि र खनिज क्षेत्रको विकासमा विशेष जोड दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए । सो अवसरमा नेता नेपालले नेपालले बंगलादेशको सम्बन्धलाई अझै समधुर बनाउन चाहेको पनि स्पष्ट पारेका थिए ।


