![]()
काठमाडौं । कान्तिपुर रनर हाफ म्याराथन जेठ पहिलो साता आयोजना हुने भएको छ । आयोजक कान्तिपुर पब्लिकेशन्स प्रालिले पत्रकार सम्मेलन गर्दै सातौं संस्करणको हाफ म्याराथन जेठ ५ गते हुने जानकारी गराएको छ ।
नेपाल एथ्लेटिक्स सघंको प्राविधिक सहयोगमा हुने हाफ म्याराथन २१ किलोमिटरको हुनेछ । हाफ म्याराथनसंगै ३ किमिको ह्विल चेयर दौड र ५ किमिको कर्पोरेट–मिडिया दौड समेत हुने आयोजकले जनाएको छ । हाफ म्यारथन, ह्विल चेयर र कर्पोरेट–मिडिया गरी करिब २५ सय महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने आयोजकको दाबी छ ।
हाफ म्याराथनतर्फ महिला र पुरुष दुवै स्पर्धाका विजेताले रनर काइट प्लस स्कुटरसहित समान ५० – ५० हजार पुरस्कार प्राप्त गर्ने छन् । उपविजेताले ३० – ३० हजार र तेस्रो हुनेले समान २० – २० हजार प्राप्त गर्ने छन् । यस्तै चौथोले १० – १०, पाँचौले ५ – ५ हजार प्राप्त गर्दा छैटौं हुनेले समान ३ – ३ हजार प्राप्त गर्ने छन् । विजेताको लागि दुई थान स्कुटर रमण मोटर्सले उपलब्ध गराउने छन् ।
हाफ म्याराथन थापाथलीबाट सुरु भई माइतीघर, बबरमहल, नयाँ बानेश्वर, तिनकुने, कोटेश्वर,जडीबुटी, गट्ठाघर, सानोठिमी हुँदै सल्लाघारी चोक पुगेर फर्कने छ । सल्लाहघारीबाट थिमी, गट्ठाघर, कोटेश्वर, तिनकुने, बानेश्वर, बिजुलीबजार, बबरमहल, माइतीघर हुँदै कान्तिपुर पब्लिकेशन आएर सकिने छ ।
ह्विल चेयरतर्फको महिला र पुरुष विजेताले २० – २० हजार, उपविजेताले १० – १० हजार र तेस्रो हुनेले समान ५ – ५ हजार प्राप्त गर्ने छन् । ह्विल चेयर दौड कान्तिपुर पब्लिकेशन थापाथलीबाट सुरु भई माइतीघर मण्डला घुमेर पुन कान्तिपुर पब्लिकेशन आएर सकिने छ ।


