![]()
काठमाडौ,बैशाख ।
३३ किलो सुन प्रकरणमा जोडिएको सनम शाक्यको हत्या करेन्ट लगाएर र कुटपिटबाट भएको खुलेको छ । हराएको सुन उनीहरुले नै लुकाएको आशंकामा तराइको जंगलमा पिकनिक खाने निहुँमा लगेर करेन्ट लगाइएको खुलेको छ ।शाक्यसँगै मोहन काफ्ले र नरेन्द्र कार्कीलाई पनि त्यसैगरी करेन्ट लगाइएको थियो । रुखमा बाँधेर करेन्ट लगाउँदा गाउँलेहरुले देखेपछि गाडिभित्र राखेर करेन्ट लगाएको प्रहरीसमक्ष बयान दिएका छन् ।शाक्यलाई करेन्ट लगाउने टेकराज मल्लले प्रहरीलाई दिएको बयानमा शाक्यले हराएको सुन कहाँ छ भनेर नभनेसम्म मरे पनि करेन्ट लगाइरहन चुडामणि उप्रेती गोरेले निर्देशन दिएको बताएका छन् । सनमको धड्कन रोकिएपछि अन्य दुईजनालाई करेन्ट लगाउन छाडिएको बयानमा उल्लेख छ ।
‘हामीहरुले कुट्दै मुखको बुजो निकाल्दै सोधपुछ गर्दा पनि नबताए पछि पुनः पहिले जस्तै तरिकाले कुटपिट गर्न थालियो’ उनले बयानमा भनेका छन्ः‘सोही क्रममा खोला तिर मान्छेको चहल पहल बढ्न थाले पछि गोरे भन्ने चुडामणी उप्रेतीले यहाँ मान्छेले थाहा पाउँछन् यिनीहरुलाई गाडीमा राखी करेन्ट लगा भनेपछि निजले बताए बमोजिम तिनै जनालाई बाँधेको रूखबाट खोली सनम शाक्य र मोहन काफ्लेलाई मैले र सुरेन्द्र गौतमले करेन्ट लगाउन थाल्यौँ भने कृष्ण भन्ने नरेन्द्र कार्कीलाई लाक्पा शेर्पा र टुक बहादुर मगरले टाटा हाईलेक्स गाडीमा लगी सबै तिरको झ्याल ढोका बन्द गरी गाडीको म्युजिक खोली आवाज बढाई मुखमा बुजो कोची करेन्ट लगाउन थालियो । करेन्ट लगाउने क्रममा मैले र सुरेन्द्र गौतमले करेन्ट लगाएका मोहन काफ्ले र सनम शाक्यमध्ये सनम शाक्य बेहोस भएपछि बेहोस भएको कुरा गोरे भन्ने चुडामणी उप्रेतीलाई जानकारी गराउँदा जबसम्म भन्दैन तबसम्म मरे मरोस् करेन्ट लगाई राख भन्यो र म पुनः गाडीभित्र पसी बेहोस अवस्थामा रहेका सनम शाक्यलाई करेन्ट लगाउन थालेँ । त्यसरी करेन्ट लगाउदै जाँदा केहि बेरमा सनम शाक्यको सासको धडकन बन्द भयो ।’
त्यसपछि यसलाई मर्न त दिनु हुँदैन भनी हतार हतार राजन भन्ने ड्राइभरलाई बजारतर्फ ग्लुकोज लिन आफूले नै पठाएको उनले बयानमा उल्लेख गरेका छन् । सनम शाक्यको मृत्यु भएपछि उनको शवलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको उनको बयानमा उल्लेख छ । ‘सनम शाक्यको मृत्यु भएपछि अरूलाई पनि करेन्ट लगाउन छाडियो र उक्त लाशलाई के कसरी ठेगान लागाउने भनी सल्लाह हुँदा कसैले कोशीमा, कसैले त्रिसुलीमा फालीदिनुपर्छ र कसैले काल्पनिक एक्सिडेन्ट जस्तो देखिनेगरी बनाई छाडी दिनुपर्छ भने तर गोरे भन्ने चुडामणी उप्रेतीले जंगलमानै खाल्डो खनी पुरी दिनुपर्छ भनेपछि गोरे भन्ने चुडामणी उप्रेतीले लाक्पा शेर्पा र टुक बहादुर मगरलाई खाल्डो खन्न लगायो । र, सोहि बेलामा होटलमा रहेका कृष्ण बस्नेतलाई गोरे भन्ने चुडामणी उप्रेतीले फोन गरी तक्लेलाई काठमाडौ पठाई दिनू भनीसकेको थियो ।
खाल्डो केहि खनेपछि उसले के कता फोन सम्पर्क गरी खाल्डो खन्न छोड्दे भन्यो त्यसपछि सबै जना केहीबेर घटनास्थलमानै बसी करिब बेलुकीको ४ बजे तिर सनम शाक्यको लाश माथि तौलिया राखी बिरामी भएको जस्तो देखाई उक्त गाडीमा म, सुरेन्द्र गौतम, टुक बहादुर मगर, रोहित आचार्य, कृष्ण भन्ने नरेन्द्र कार्की र लाक्पा शेर्पा चढ्यौ भने अरू साथीहरू अन्य गाडीमा चढी हामी धरानस्थित निर्भाना कन्ट्री क्लबमा पुग्यौँ । त्यहा पुगेपछि कोही बियर खान थाले कोही गफ गरेर बस्न थाले, सो बेलामा सबै भेला हुदा पनि माधब घिमिरे भन्ने ब्यक्ति के कता गए थाहा भएन ।’


