Breaking News.... EverestOnlineKhabar
August 11, 2026

श्रमिक दिवसमा राष्ट्रपति र कांग्रेस सभापति देउवाको शुभकामना शन्देशः‘श्रम अधिकार सुनिश्चित हुन सकोस्’

Loading

काठमाडौ,बैशाख ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व मजदूर दिवसका अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति, समृद्धि एवम् श्रम अधिकार सुनिश्चितताको कामना गरेकी छिन्। उनले आज शुभकामना सन्देशमार्फत नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्त रुप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग लाभान्वित हुने अपेक्षा गरेकी छिन्।
राष्ट्रपति भण्डारीले यस दिवसले आफ्नो अधिकार र स्वतन्त्रतालाई सुनिश्चित गरी विश्वभरीका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास व्यक्त गरिन्। उनले सबै नेपाली श्रमिकले स्वदेश तथा विदेशमा श्रम गर्दा अनुकूल श्रम वातावरण, न्यायोचित पारिश्रमिक एवम् सामाजिक सुरक्षालगायत सबै श्रम अधिकार सुनिश्चित भई उपयुक्त औद्योगिक सम्बन्ध स्थापित हुन सकोस् भन्ने कामना गरिन्।
राष्ट्रपति भण्डारीले मजदूर दिवसका अवसरमा आर्थिक समृद्धि, सामाजिक विकास, दिगो शान्ति र सुशासनतर्फ अग्रसर वर्तमान अवस्थामा सबै नेपाली श्रमिक तथा मजदूरले आफ्नो अधिकारको पूर्ण, जीवनोपयोगी र सार्थक रुपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना व्यक्त गरेकी छिन्।
यसैबीच,नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरवहादुर देउवाले श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिवसका अवसरमा सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्। विश्व श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान बिन्दु मजदुर आन्दोलन भएको स्मरण गर्दै २००३ सालमा कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरको पहिलो ऐतिहासिक आन्दोलन भएको र सरकारले निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बिपी कोइरालालगायत धेरै नेतालाई पक्राउ गरे पनि २०१६ सालमा कांग्रेसको जननिर्वाचित सरकारले नै कारखाना र मजदूरसम्बन्धी कानूनको तर्जुमा गरेर मजदूरहरूलाई कानूनसम्मत अधिकार प्रदान गरेको स्मरण गराए।
कांग्रेसको नेतृत्व र अग्रसरतामा श्रमिकको अधिकार सुनिश्चित गराउन २०४८ सालमा श्रम ऐन, २०४९ सालमा ट्रेड युनियन ऐन र २०७४ सालमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र संशोधित श्रम ऐन ल्याइएको सभापति देउवाको सन्देशमा उल्लेख छ।
उनले लोकतन्त्रमा मात्र श्रमको सम्मान हुने भएको हुँदा लोकतन्त्रको रक्षा र सम्वर्द्धन गर्नु सबैको कर्तव्य र दायित्व भएकाले यस दिशातर्फ सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनी सजग र जिम्मेवार हुने विश्वास पनि व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed