![]()
काठमाडौं । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले वुद्ध जयन्तीलाई अन्तर्रास्ट्रिय ध्यान दिवसको रुपमा स्थापित गर्न आवश्यक रहेको बताउनु भएको छ ।
२५६२औ बुद्धजयन्तीको अवसरमा समाजिक संजालमा शुभकामना दिंदै मन्त्री पोखरेलले गौतम बुद्धको देश भनेर नेपाल बिश्वमै परिचित भएकाले त्यसलाई अझ बिस्तार गर्न ध्यान दिवसका रुपमा विकास गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । बुद्ध जयन्तीलाई ध्यान दिवसका रुपमा स्थापित गर्न सबैले आ–आफनो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ ।
समाजिक संजालमा उहाँ लेख्नु हुन्छ, ‘ हामी गौतम वुद्धको सम्झनामा २५६२औ स्मृति दिवस मनाई रहेका छौ । वुद्धको मुल खोज (बिपश्यना) हो। बुद्धत्वलाई वुझने र व्यवस्थित गर्ने सन्दर्भमा ध्यानका थुप्रै विधि र पदति मध्य बिपश्यना सर्वा्धिक सशक्त र लोकप्रिय मानिन्छ। तृष्णा र भोगलाई बुझ्न र व्यवस्थित गर्न, जीवन पदति बदल्न पनि वुद्धको शिक्षा सान्दर्भिक छ । अन्त्यमा सबैलाइ यही भन्न चाहन्छु वुद्ध जयन्तीलाई अन्तरास्ट्रिय ध्यान दिवसको रुपमा स्थापित गर्न भुमिका खेलौं । ’
मन्त्री पोखरेलले गत बर्ष आफू शिक्षा मन्त्री हुँदा त्यो बेला पनि प्रधानमन्त्री नै रहनु भएका केपी ओलीसमक्ष बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय ध्यान दिवसका रुपमा मनाउन प्रस्ताव गर्नुभएको थियो । यसपटक लुम्बिनी बौद्ध बिश्वबिद्यालयको प्रथम दिक्षान्त समारोहमा पनि उहाँले यो कुरा उठाउनु भएको थियो ।


