![]()
सिन्धुपाल्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले सबैलाई विकासमा लाग्न आग्रह गर्नुभएको छ । इन्द्रावती गाउँपालिकाको भिमटारस्थित दनुवार बस्ती उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विकासको लागि अगाडि बढ्न सबैलाई अनुरोध गर्नुभएको हो ।
एसओएस बालग्रामले २७ करोडको लागतमा एक सामुदायिक भवन, विद्यालय र बस्ती बनाएको हो । राष्ट्रपति भण्डारीले उक्त बस्ती आइतबार वडाध्यक्ष कमलरत्न दनुवारलाई हस्तान्तरण गर्नुभएको हो । उहाँले मुलुकलाई अव विकास र समृद्धितर्फ अघि बढाउनुपर्ने भन्दै त्यसका लागि सबै क्षेत्रबाट तयारी आवश्यक भएको बताउनुभयो ।
‘एसओसबाट सह्रानीय काम भएको छ, विपन्न वर्गलाई सहयोगका लागि हात अगाडि बढाउन जरुरी छ’ उहाँले भन्नुभयो,‘सिन्धुपाल्चोकलाई समृद्ध बनाउने काम अगाडि बढ्नेछ, यसको संरक्षणको जिम्मा स्थानीय सरकारले गर्नुहोस् ।’
उहाँले दनुवार बस्तीको निरीक्षण पनि गर्नुभयो । निरीक्षणपछि राष्ट्रपति भण्डारीले हेलम्बु, तातोपानीजस्ता महत्वपूर्ण क्षेत्रको प्रवद्र्धन गर्न आवश्यक रहेको भन्दै कृषि उत्पादन अगाडि बढाउन सिँचाइ अत्यावश्यक रहेको बताउनुभयो । बन्द रहेको तातोपानी नाका खोल्न र मेलम्चीको पानी राजधानी पूर्याउन पहलकदमी भइरहेको जानकारी पाएको सुनाउनुभयो । ‘नयाँ अभियान लिएर उत्साहपूर्ण ढंगले अगाडि बढ्नुहोस्, चाहिने सहयोग गर्न तत्पर छौँ’ उहाँले भन्नुभयो ।


