![]()
काठमाडौं । वैशाख २२ मा हुने भनिएको अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनाव नहुने आशंका उब्जिएको छ । अध्यक्षका प्रत्यासी मणि कुँवरले चुनाव मान्य नहुने बताएपछि अन्योल थपिएको हो ।
एन्फा निर्वाचनबारे उच्च अदालत पाटनले यसअघि दिएको अन्तरिम आदेश वैशाख १२ मा खारेज गरेपछि स्थगित भएको निर्वाचन वैशाख २२ गते हुने मिति तय भएको थियो । तर, एन्फाका वरिष्ठ उपाध्यक्षसमेत रहेका अध्यक्षका प्रत्यासी कुँवरले चुनाव विधानसम्मत् नभएको बताएका छन् ।
अदालतमा मुद्दा परेपछि कार्यसमितिले पहिले गरेको निर्णय बे्रक भएको र विधानअनुसार फेरि कार्यसमितिले ६० दिने नोटिस जारी गर्नुपर्ने अध्यक्षका प्रत्यासी कुँवर पक्षको माग रहेको छ ।
यता, परिवर्तन पक्षका एन्फा अध्यक्षका प्रत्यासी कर्माछिरिङ शेर्पाले २२ गते नै चुनाव हुने बताए । उनले भने, “६० दिनको नोटिस भनेको छ, त्यो भन्दा पनि बढी भइसक्यो । केन्द्रीय कार्यसमितिमा बसेर कार्यसमितिविरुद्ध नै मुद्दा हाल्न गएका छन् ।”
उच्च अदालत पाटनले गत चैत ७ गते एन्फाको १६ औं साधारणसभा तथा कार्यसमिति निर्वाचन नगर्न अन्तरिम आदेश दिएपछि गत वर्ष चैत १४ गते तय भएको निर्वाचन स्थगित भएको थियो । एन्फाको निर्वाचन समितिले वैशाख १२ गते सोमबार अदालतमा परेको मुद्दाको किनारा लागेपछि वैशाख २२ गते एन्फा चुनाव गर्ने निर्णय गरेको थियो ।
एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले अन्तरिम आदेश खारेज गरीपाउँ भनी दिएको रिटमा उच्च अदालतले फैसला गर्दै अन्तरिम आदेश खारेज गरेको थियो ।
एन्फाको चुनाव समयमै नहुँदा यसको प्रत्यक्ष मारमा भने खेल र खेलाडी परेका छन् । लामो समयदेखि राष्ट्रिय लिग र ए डिभिजन लिग हुन सकिरहेको छैन । एन्फा चुनावकै कारण गत वर्ष नै हुने भनिएको राष्ट्रिय लिग स्थगित भएको थियो । चुनावकै चटारोमा एन्फाले फुटबलका अन्य गतिविधि गर्न सकिरहेको छैन ।


