Breaking News.... EverestOnlineKhabar
August 15, 2026

पेरुमा ५५० बर्ष पुरानो सामुहिक चिहान फेला, इतिहासकै सबैभन्दा ठूलो चिहान भएको दाबी

Loading

बीबीसी । पुरातत्वविद्हरूले उत्खननका क्रममा पेरुमा भेटिएको प्रमाण अनुसार मानव इतिहासमै त्यहाँ बालबालिकाको सबैभन्दा ठूलो बलि दिइएको हुन सक्ने बताएका छन्।

उनीहरूका अनुसार करिब साढे पाँच सय वर्ष पहिले पेरुको उत्तरी तटीय क्षेत्रमा झण्डै एउटै समयमा १४० जना बालबालिकाको बलि दिइएको देखिएको छ। प्राचीन चिमु सभ्यताको केन्द्र नजिकै पर्ने आधुनिक पेरुको ट्रुकिलियोमा त्यस्तो तथ्य फेला परेको हो।

एउटै घटनामा बालबालिकासँगै ऊँट प्रजातिको लामा भनिने दुई सयभन्दा बढी भेडा जस्ता बच्चा जनावरको बलि दिइएको देखिएको पुरातत्वविद्हरूले बताएका छन्। न्याशनल जियोग्राफिक सोसाइटीको आर्थिक सहयोगमा गरिएको अनुसन्धानको नतिजा पहिलो पटक न्याशनल जियोग्राफिककै वेबसाइटमा प्रकाशित गरिएको हो।
एकजना प्रमुख अनुसन्धानकर्ता जोन भेरानोले भनेका छन, “मैले चाहिँ यस्तो हुन सक्ने अपेक्षा गरेको थिइनँ र मलाई लाग्छ अरू कसैले पनि यस्तो सोचेको हुन सक्दैन।“

३,५०० वर्ष पुरानो एउटा मन्दिरको उत्खननका क्रममा सन् २०११ मा पहिलो पटक नरबलि दिइएको वान्चाकिटो लास् लामास् भन्ने ठाउँबाट ४० जना पीडित र ७४ वटा लामा जनावरका बच्चाहरूको अवशेष फेला पारिएको थियो। यसै हप्ता घोषणा गरिएअनुसार पाँचदेखि १४ वर्षमुनिका जम्मा १४० जना बालबालिकाको बलि दिइएको देखिएको छ।

उनीहरूमध्ये अधिकांश आठदेखि १२ वर्षको बीचको भएको न्याशनल जियोग्राफिकले जनाएको छ। ती बालबालिकाहरू नरबलिको शिकार भएको कुरा छातीको बीचको हड्डीसहित अन्य हड्डीमा देखिएको खतबाट थाहा हुन्छ। बलि दिइएका जनावरहरू १८ महिनाभन्दा कम उमेरको भएको देखिएको छ।

अर्का प्रमुख अनुसन्धानकर्ता ग्याब्रिएल प्रिएटोले भने, “जब मान्छेहरू यो घटना र त्यसको स्तरबारे सुन्छन, सबैभन्दा पहिला उनीहरू त्यो किन भएको होला भन्ने सोध्छन्।“

त्यहाँ भेटिएका कपडाका अवशेषको कार्बन डेटिङ विधिबाट निर्धारण गर्दा उक्त घटना सन् १४०० देखि १४५० को अवधितिर भएको देखिन्छ। चन्द्रमाको पूजा गर्ने चिमुहरूमाथि त्यसको केही दशकपछि इङ्का सभ्यताले विजय हासिल गरेको थियो। त्यसको करिब ५० वर्षपछि स्पेनीहरू दक्षिण अमेरिका पुगे र इङ्कामाथि विजय हासिल गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed